“अपेक्षा”

शान्ति सिग्देल

कुहुकुहु लय भर्दै कोइली गीत गाऊन्
मुसुमुसुमुसु हाँस्दै पौषमा घाम आऊन्
विचलित शिशु वृद्धा घाम यो ताप्न पाऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

सलिलसरि सबैले स्नेह बाँडून् समान
हरित विपिनजस्तै हाँस्न थालून् जहान
घरघर मधुजस्तै मन्त्र बोकेर आऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

कठिन समय चिर्दै चित्तमा शान्ति भर्दै
वदन र मनभित्रै सुस्तरी कान्ति छर्दै
पवित पवनजस्तै कर्ममा खट्न थालून्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

जन असफल बन्दा अश्रुको बग्छ धारा
खुरुखुरुखुरु खोलून् बन्द ढोका तगारा
मनमगज उघारी मुक्त बाटो समाऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।

मधुरमधुर वाणी शान्ति छर्ने बिहानी
असल मनुजको नै हुन्छ मीठो कहानी
परजन हितमा नै दिव्य आनन्द पाऊन्
मन फुरफुर पारी सिर्जनामा रमाऊन् ।