गंगा खड्का
बूढानीलकण्ठ
आँखा भयो रातो
च्वास्सच्वास्स घोचेर
अझै दुख्यो मन मेरो
पढाइ बारे सोचेर।
स्कुल जान पाइन
घरमै बस्नुपर्यो
लौ न आँखा पाकेर
मलाई गर्नुगर्यो।
मोबाइल,टि.भी सबै कुरा
निषेध भए छुनलाई
मनोरञ्जन नपाएर
पर्यो दु:खी हुनलाई।
सर्छ भनी डराएर
साथी हुन्छन् पर
कतिन्जेल हुने होला
आँखा दुख्ने डर ?
पटकपटक औषधि
हाल्दाखेरि पोल्छ झन्
माया गर्ने भन्दा
डराउने धेरै छन्।
कालो चस्मा लाएर
बस्दा लाग्छ झर्को
घरीघरी किन आउँछन्
संक्रमणका लर्को ?
नअपनाए सावधानी
फर्कीफर्की आउँछ रे
सरसफाइमा अल्छी गर्नेले
पाउनु दु: ख पाउँछ रे।