“आँसु पुछिदेऊ”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

मस्तसँग सुतेपछि मध्यराति आयाे
जाेडसित हल्लाएर खानु साताे खायाे।

बार्दलीमा उभिएर हेर्दा यताउता
मनभित्र चस्काे पस्याे मास्याे कताकता ?

फर्की आएँ बिस्तारामा जे त पर्ला भनी
विनाशकाे कुरामात्रै नाच्याे फनफनी।

समाचार पढ्दा सुन्दा मुटु काप्न थाल्याे
जाजरकोट रूकुममा धेरै घर ढाल्याे।

कति परे बुढापाका युवा लालाबाला
मान्छे खाने काल तेराे कस्ताे चालामाला ?

तिहारकाे झिलिमिली सुरू हुने बेला
गाउँ शून्य बनाउने खेलिस् कस्तो खेला ?

परिवार भुटिस् सबै थात बास खाेसिस्
चित्कारमा रमाउन निकै गरिस् काेशिस्।

नामै पापी काल उस्काे मास्ने सक्ने काम
धैर्यसाथ बाँचाैं सबै जपी प्रभु नाम ।

उद्धारमा जुटाैं सब मिलिजुली जन
सक्नेहरू समर्पण गर धन मन।

भत्किएका घरहरू पुन:उठ्नु पर्छ
राेएका यी मनहरू पुनः हाँस्नु पर्छ।

बन्द गर पाेष्ट्याउन बीभत्स यी फाेटा
सक्छाै भने बाँडिदेऊ भाेकालाई राेटा।

फाेटा खिच्नु साटाे उता आँसु पुछिदेऊ
सेवा गर आफू सक्दाे म छु भनिदेऊ।

(२०८०कार्तिक १७ गते राति गएकाे विनाशकारी भूकम्पमा परी जन धनकाे क्षति व्यहोर्नुपरेका मनहरूप्रति समर्पण स्वरूप)