“आउ है साथी”


प्रह्लाद दवाडी
सिक्किम

आउ है साथी सँगै खेल्न
सँगै हामी पढौँ न
हात्ती मुसा कछुवा चितुवा
सँगै अघि बढौँ न।

सुन्न सिक्दै बोल्नु छ पढ्न सिक्दै लेख्नु छ,
ठूला ठूला सपना साची संसारमा टेक्नु छ।
साना साना हातले पेन्सिल समाई पढौं है,
हात समाई सँगै नाचौँ सँगै शिखर चढौँ है।

टोल गेडा मटेङग्रा हामी मिली खेल्नु छ,
कोदो दाल पोषणले स्वास्थ्य सधैं बन्नु छ।
फल फुल साग सब्जी चिन्दै हामी खाऊँ है,
रुखपात खोला नाला प्रकृतिमा रमाऊँ है।

हामी बजार जान्छौँ मिठाई पनि खान्छौँ,
घोडा गाडी चडेर संसार घुमी आउँछौँ।
तिमीले इन्द्रेणी कोर्नु , म बादल फोरुला,
आकाशमा उडी हामी हातले तारा सोरुला।

गणित भाषा साहित्य विज्ञान पनि सिकौँला,
धरती देखि अन्तरिक्ष सबको मणि झिकौँला।
मनमा मर्म भरी सबै हातेमालो गरौँ है
सेवा कर्म गरी हामी सुख शान्ति भरौँ है।

आउ है साथी सँगै खेल्न
सँगै हामी पढौँ न
हात्ती मुसा कछुवा चितुवा
सँगै अघि बढौँ न।