शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०
रनबहादुर भुनभुनाउँदै तल्लाघरे कुमालेकहाँ पुग्यो। “के भयो दाइ आवेशमा हुनुहुन्छ त ? ” कुमाले भाइले हार्दिकता पूर्वक बस्न आग्रह गर्दै आफ्नै काममा तल्लिन रह्यो। “के हुनु नि छोरोले वाक्क लगायो । भर्खर नौ वर्षको छ । चकचके त्यस्तै, मुखाले त्यस्तै, उपद्रोको त कुरै नगरुम । हिजोमात्रै किनेर ल्याएको हाँसको टिउरो खुट्टाले किचेर मारेछ । एक थप्पड दिएर आएको।” “बालबालिकालाई त्यसरी पिट्नु हुँदैन नि दाइ !” कुमाले भाइले प्रत्युत्तर गर्यो। “नपिटेर हुन्छ ? तह लगाउन परेन ? स्कूल जानेबेला त्यस्तै झगडा गर्छ । त्यसकी आमाले पुलपुलाएर राखेकी छे।” स्वास्नीलाई दोष थोपर्दै रनबहादुर झनै कुर्लिए । “त्यस्तो होइन दाइ …!” कुमाले भाइ केही भन्न खोज्दै थिए त्यसैबेला उसको छोरो सुकिलो स्कूले लुगा लगाएर बाहिर निक्ल्यो । विनीत मुद्रामा रनबहादु तर्फ फर्केर नमस्कार गर्यो र स्कूल तिर लाग्यो ।” ओहो …! छोरो भनेको त यस्तो पो हुन्छ त । मेरो छोरो त राक्षेस छ राक्षेस । छोरालाई कसरी यस्तो सुसंस्कृत बनाइस् हो भाइ ?” रनबहादुर डाहा मिश्रित स्वरमा बोल्यो । कुमाले भाइले माटाको कलशलाई अन्तिम आकार दिँदै भने , बालबच्चा भनेका गिलो माटाका डल्ला सरह हुन् दाइ , जस्तो आकार दिन चाहनु हुन्छ त्यस्तै बन्छन् ।”