रुद्र अधिकारी
ईटहरी, सुनसरी
हालः लन्डन
“ए भोला तेरो यहाँ कलम खसेको रहेछ, आइज उठाएर लैजा “ आमाले देखाउँदै भनिन।
भोलाले चुरोट टिप्यौ र हत्त-पत्त गोजीमा लुकायो । उसले आमासँग आँखा जुधाउन सकेन । आमासँग आँखा छलि नसक्दै उसका आँखा रसाई सकेका थिए । उसले आमाको अगाडि कहिल्यै पनि धुम्रपान गरेको थिएन । आमाले चुरोट हो भन्ने जान्दा जान्दै कलम भनेर दिएको बुझेर होला उसलाई धुम्रपान गरेकोमा हिनताबोध र आत्मग्लानि भयो ।
हजुरआमा र बुबाको लुकाछुपी अनुले हेरिरहेकी रहिछन । उनले बुबालाई भनिन् “बाबा तपाईँलाई हजुरआमाको अगाडि धुम्रपान नगरेर उहाँको मान गरेजस्तो लाग्दो हो, वास्तवमा तपाईँले हजुरआमालाई मात्र हैन आफैँलाई पनि धोखा दिनु भएको छ”।
“तिमी जन्मनु भन्दा अघिदेखि लागेको लत, के गर्नु ? थाहा हुँदा हुँदै पनि छोडन गाह्रो हुँदोरहेछ ।” भोलाको तयारी जवाफ थियो ।
भोलाको कुरा सुनेर आजित हुँदै अनुले भनी, “त्यसो हो भने म पनि आज देखि हजुरले नदेख्ने गरी धुम्रपान गर्छु ।”