“आत्मनिर्भरता”

तिलक तारामी “रेशाली”
बुटवल-११, रुपन्देही

“ह ह .. ! ए कुना, कुना, कुना ! ” गुमानेले एउटा हातले अनौ समातेर अर्को हातले गोरूको पुच्छर बटार्दै थियो।
“आजै मेलो सक्नुपर्छ है ! ” काजीले गुमानेलाई आदेश दिए।


“खै ? डाम्नाहरू हिंडे पो। भोकाए जस्ता छन्। एक डोको घाँस खुवाउनु पर्यो।” गुमाने बोल्यो।
“भो भो पर्दैन। मेलो सकिदैंन। यो सब तेरो ठग्ने मेसो हो।” काजी बोले।
आज असार – १५, काजीको खेतमा रोपाइँ चल्दै थियो। मानो रोपेर मुरी फलाउने दिन भन्दै काजीले हली, बाउँसे र रोपाहार सबैलाई सास फेर्ने अवसर समेत दिएनन। आत्मनिर्भताको ठूलै गुड्डी हाँके।
खाजा खाने बेला भयो। कजिनीले सबैलाई दहीचिउरा दिइन्।
एकाएक गुमानेले अनुहार बिग्रेको देखेर काजीले सोधे, “के भयो हँ ? ”
“यो चिउरामा चिउराको स्वाद नै छैन त? ” गुमानेले गुनासो पोख्यो।
अरू सबैले गुमानेकै कुरामा सहमति जनाए।
“कहाँबाट ल्याउनुभाको ? ” सबैले एकसाथ प्रश्न गरे।
“हैन, के भन्छौ तिमीहरू ? यो त झन विदेशबाट मगाएको चिउरा पो हो त ! ” काजी बोले।