रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
किन होला लौ न यसको यस्तो मनोमानी?
बिनामेसै परेको छ आरी घोप्टे पानी
असारमा पो असारे थ्यो साउनमा साउने
भदौसम्म ठिकै थियो असोजमा नि आउने
कुबेलामा नाटक गर्ने नराम्रो छ बानी
रोकिए नि हुन्थ्यो बरै आरी घोप्टे पानी
तारन्तार पानी पर्दा ओढे पनि छाता
कताबाट पानी चुहियो भिज्यो किताब पाता
आत्तिएर भन्छिन् कठै स्कुल जाने नानी
किन पर्नु परेको हो आरी घोप्टे पानी
मान्छेका पो बा-आमा छन् छेक्न सक्छन् झरी
कसो गरी पेट भर्छन् रुखमा बस्ने चरी ?
गुँडका चल्ला गुँडमै रहे अब कता जानी
नपरे नि हुन्थ्यो अब आरी घोप्टे पानी।