उजेली

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट – ४, नवलपुर

उजेली ए ! उजेली उजेली हैन , कहाँ मरी यो ? हेर उज्यालो भइसक्यो । कहाँ गई यो ? अहिले एकछिन पछि भाइलाई स्कुल पुर्याउन जानु पर्ने छ । बस्तुको भकारो सोर्नु त्यसै छ ! पानी पनि खुवाउनु पर्ने छ । काम सबै अलपत्रै त्यसै छ । उता आफूलाई मेलामा जान ढिला भइसक्यो भन्दै आमा कराउनु भयो ।
पधेँराबाट पानी लिएर उजेली आई । हैन, कति बेर लाएकी यहाँ आफूलाई मेलामा जान ढिला भयो । ल ! तिमीले भाइलाई खाना ख्वाएर स्कुल छोड । आएर घरधन्दा गर है ! म गए भन्दै आमा मेलामा जानुभयो ।
सधैं झैँ भाइलाई स्कुल पुर्याएर उजेली त्यहीँ कक्षाकोठा बाहिर बस्छे । उसलाई पढ्नमा अत्यन्त रूचि थियो । एकपटक सुनेका कुरा ट्याप्प टिप्थी । हरेक कुरामा टाठी थिई । भाइलाई स्कुल पुर्याउने र ल्याउने निहुँमा केही न केही सिकेर फर्कन्थी । निरज मास्टरले पढाइ प्रति उजेलीको उत्सुकता , रुचि, चाहनालाई नजिकैबाट नियाल्नु भएको थियो । मास्टरसाप एकदिन उजेलीको घरमै गएर उसका आमाबाबालाई भेट्नु भयो । उजेलीको क्षमता बताउनु भयो । हेर्नुहोस् , यदि उजेलीले पढ्न पाइन भने उनले केही न केही परिवर्तन गर्न सक्छिन् ? उनको दिमाग तीक्ष्ण छ । धेरै राम्रो विद्यार्थी हुनेछिन् । ल न ! कृपया नानीलाई स्कुल पठाइदिनुहोस् भन्दै अनुनय विनय गर्नुभयो , मास्टरसाप ।
उजेलीका आमाबाबा दुबैले आर्थिक अवस्था कमजोर देखाए । छोरी मान्छे पढेर के गर्नु अर्थै छैन ? अर्काको घर जाने जात बरु काम सिके भने आफैलाई सजिलो हुन्छ।भोलि विहेको लागि केटा हेर्न आउँदै छन् । कुरो मिल्यो भने विहे गरिदिने हो ।उजेलीले सबै कुरा भित्रबाहिर गर्दा सुनेकी थिई । आमाबुवाले पुन: सम्झाउदै हेर छोरी ! छोरी मान्छेको जातले पढ्नु पर्दैन । घरको काम गर्न सिपालु हुनुपर्छ । भोलि विहे गरेपछि घर गरेर खान सजिलो हुन्छ । सबैको प्यारो भइन्छ । नत्र कस्ताको खलक रहेछ कुन्नी ? केही पनि नसिकाएका त्यसका बाउआमाले भन्छन् । हाम्रो इज्जत राख्नु पर्छ है , बुझ्यौ छोरी ! आदि आदि भन्दै सम्झाउनु भयो।
पढ्ने इच्छा मनमा कति कति भएर पनि अनयासै हस् भनेर टाउको हल्लाई । पुन: आफ्नो काममा लागि उजेली ।
मनमनै सोची, “पढनका लागि त छोरा भएर जन्मनु पर्ने रहेछ । भाग्य नै खोटो भएसि के गर्नु खै भनेर चित्त बुझाई ?”