उज्यालो


गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

“ के गर्नु ,भगवान् पनि गरिबका कति परीक्षा लिन सक्छन् कुन्नि ? बिचरा लाऊँलाऊँको उमेरमा मरेछ ।”मुहारपुस्तिकामा घोरिरहेका दीपकले भने ।
“ को मर्यो र बुबा ? ” रुपकको मनमा आशंकाको बादल मडारियो ।
“ हेर न तिहारको झिलिमिली बत्ती हाल्न गएका एकजना कामदार करेन्ट लागेर मरेछन् । बिचरा ! घरपरिवार कति रोए होलान् ? ” दीपकले मोबाइलको समाचार देखाउँदै भने । एकछिन सन्नाटा छायो।
“ मलाई त यो तिहारमा झिलिमिली बत्ती हाल्न नै मन छैन बाबु । अलिकति गडबड भयो भने यति ठूलो विपत्ति आइलाग्छ ।” दीपकले खुइँय्य सुस्केरा हाले ।
“ तपाईँको कुरा नि ठिक हो बुढा तर झिलिमिली बत्ती नहाल्दा केटाकेटीले खल्लो मान्ने हुन् कि ?” दीपकको नजिकै बत्ती काटेर बसिरहेकी राधिकाले भनिन् ।
“ हामी केही आपत्ति जनाउँदैनौँ हजुरआमा । अनावश्यक साजसज्जामा गरिने फजुल खर्चले होइन , मितव्ययी भएर परम्परा धान्ने बानीले पो त सबैतिर उज्यालो छाउँछ त । ” सबैलाई आश्चर्यचकित बनाउँदै नातिले भन्यो ।