कात्यायन
चाबहिल, काठमाडौं – ७
“तँ अब फर्किन्छस् कि बाबू ?”
आमाको काखमा पल्टिँदै मैले भनें, “अब म फर्किन्न आमा ।”
आमाले मेरो कपाल मुसार्दै र सानोबेलामा झैँ ठुङ्ग मार्दै भन्नुभयो, “हो, अब तँजस्तै सबै विदेशिनेहरू फर्किनु पर्छ !”
धेरैवर्षको प्रवास वासपछि, म केहीदिनअघि मात्र घर फर्केको थिएँ । करिब अठाह्र वर्षअघिको कुरा हो । आमाको कोमल स्पर्शहरू मेरा कपालहरूमा सलबलाई रहेका थिए । मेरा आँखाहरू लोलाउँदै जाँदै थिए । आमाले भन्दै हुनुहुन्थ्यो, “केही अत्याचारीहरूको विरुध्दमा, अनेकौँ आतंकबादीहरू बढिरहेका छन् । समाधान र उज्यालो ल्याउने, तिमीहरू कै हातमा छ अब !”
आमाको कुराले म झसङ्ग ब्युँझे र जुरुक्क काखबाट शिर उठाएँ र अगाडि पलेँटी कसेर बस्दै, आमाको अनुहार नियालेँ ।
प्रसङ्ग बदल्दै आमाले भन्नु भयो, “तँ भोकाए जस्तो छस् । तँलाई मनपर्ने खानेकुरा बनाउँछु ।”
आमा खाना बनाउन जानुभयो । मैले सोच्दै थिएँ कि, के होला त मलाई मनपर्ने खाना ?
आमाले भान्छाबाट बोलाउनु भयो, “ए, बाबू ! तँलाई मनपर्ने गुन्द्रुकमा भटमास र मस्यौरा हालेर बनाएको छु । छिटो आइज !”
आमाले अझैसम्म पनि बिर्सनु भएको रहेनछ मेरो सानोबेलाको रुचाई !
मनभित्रकी आमा !… सत्ताको रूपपरिवर्तन भएको छ; सार उस्तै ! फेरि पनि राष्ट्रियता, शक्ति र वैभवहरू; घोडाका तवेलाबाट उछिट्टिएर, हात्तीसारमा सारिएका छन्, सेता हात्तीहरूको क्रूर-पञ्जामा !… हामीले बिर्सेका छैनौँ; तपाईले चाहेको उज्यालो ! अक्षरहरूका हतियार बन्ने नै छन्, कुनैदिन आमा !