“उपहार”

तुलसी पण्डित

साँच्चै ! हो वीरे दाइ जागिर खुवाउने हो ? हो कस्तो न पत्याएको ? यहाँ बसेर किन दुःख गर्छौ । जागिर खाएपछि कति आनन्द हुन्छ । रेल चढी शहर घुम्न पाइन्छ । मीठो मीठो खान पाइन्छ । आँफूले चाहेको लगाउन पाइन्छ ।
वीरेको कुरा सुन्दा चमेलीलाई हो क्यारे जस्तो लाग्यो । यहाँ बसेर सधैँ दुःख गर्नु भन्दा विदेश गएर जागिर खान बेस ठानी । उसले भनी । “वीरे दाइ तपाईको म माथि त्यस्तो कृपा छ भने म जागिर खान तयार छु ।” वीरेले पनि यस्तै मौका खोजिरहेको थियो ।
एक बिहानै चमेली हराइ । गाउँमा खोजी भयो । कतै पत्तो लगाउन सकेनन् । चमेली कोठीमा पुगी । लाने मान्छे फर्केर आएन । चमेलीले आँफू बेचिएको कुरा पछि थाहा पाई । रोइ कराइ तर त्यहाँबाट छुटकारा पाउन सकिन ।
वीरे गाउँको वडाअध्यक्षमा उठ्यो । उसले चमेलीलाई बेचेको पैसा खर्च गर्यो । चमेलीको बाबा आमा र गाउँलेहरुको सहयोगले अध्यक्ष पद हत्यायो ।


बीरेले जितेकोमा उत्सव चलि रहेको थियो । त्यसैबेला चमेली गाउँ आइपुगी । उसले सबै कुरा बुझी । चमेली मौकाको ताकमा थिइन् । उनले भनिन् । “वीरे दाइ म तिम्रो स्वागत गर्छु । तिम्रो यो खुशीयालीमा भव्य स्वागत गर्न पाउँदा म खुशी छु ।” उनले वीरेको मुखमा हात पुर्याइन् । बीरे करायो । “हैन यो के गरेको तिमीले । मुख भरी कालो मोसो दलेर ।” चमेलीले मुठ्ठी कस्दै भनिन् । “यो सानो उपहार हो । अरु त बाँकी नै छ ।”