“उमेर”

रञ्जुश्री पराजुली

साठीबर्षका हजुरबा र दस बर्षको नाति साथी जस्ता थिए । नाति रमेश स्कुलबाट आए पछि हजुरबालाई देखेन भने अँध्यारो मुहार लगाएर ” आज हजुरबा कता जानू भयो खै मलाई लिन बस स्टप आउनुभएन ।” भन्दै यताउती खोज्न थाल्थ्यो ।
रमेश होमवर्क बाजे सङ्गै गर्दथ्यो । कहिले साथीलाई पनि भेटाउन ल्याउँथ्यो ।
हजुरबा पनि स्फुर्तिला थिए । छोरा बुहारी काममा जानेहुनाले घरको काम उनीहरुलाई भ्याई नभ्याई हुन्थ्यो।
तीन बर्ष अगाडि बुढी बिते पछि केही समय उनी एक्लो जीवन झोक्राएर बिताउंन थालेका थिए । त्यही बर्ष उनी रिटायर्ड पनि भएकाले समय बिताउँन कष्ट भै रहेको थियो । उनको परिवार नै शिक्षीत थिए । छोरा बुहारी दुवै ईन्जिनियर ,उनीआफु अवकाश प्राप्त प्राध्यापक भएकोले परिवार चेतनशील थियो ।
बुढी बित्नु र अवकाश पाउनु एकै पटक परेकोले उनी कतै नजाने ,झोक्राएर बस्ने गर्न थालेका थिए ।
एकदिन उनले एउटा पुस्तक पढ्दै गर्दा स्वस्थ रहने केही बुंदाहरु फेला पारे र त्यसैलाई अनुशरण गरेर समय बिताउन थाले।
बिहान भन्छामा बुहारीलाई तरकारी काट्कुट गरेर सघाउँने , नातिलाई बस सम्म पुर्याउंन जाने, लिन जाने , गृहकार्य गराउँने । साँझ पख आफू वाकमा जाने गर्न थाले। उनको स्वास्थ्यमा सुधार आउन थाल्यो । तर जोरीपारी , नातागोता ” बुढी बिते पछि एक्लो बाउलाई घरमा नोकरको थन्कोको राखेका ” भनेर कुराकाट्न थाले ।
त्यस्तो कुराले उनलाई केही असर परेन। काममा ब्यस्त हुँदै जाँदा तन्दुरुती बढ्दै गयो।
नातिको प्रथमीक स्कुलमा अभिभावक दिवसको दिन उनलाई प्रमुख अतिथिको रुपमा बोलाएको बेला केही बोलिदिन भनियो । उनले बुढेसकाल तंन्दुरुस्त बाँच्नको लागि गृहस्थीमा रमाउनु अति आवश्य भएकोले ओहोदा र इज्जत जान्छ भन्ने सोच त्याग्नु आवश्यकका साथै नातिनातिना सङ्ग रमाउँने गर्नु आवश्यक रहेको र आफु त्यसै गर्नाले स्वस्थ्य रहेको भाव व्यक्त गरे जस्लाई अभिभावक पाहुनाहरुले ताली बजाएर स्वागत गरे।