“ए प्लस”

महेन्द्र मोक्तान
गैरीबास, कालेबुङ

” गन्गन गर्न छोड्छौ कि छोरा बिगार्छ्यौ?”
पतिले सम्झाउने लवजमा भने।
“मैले पनि नराम्रो भनेको त कहाँ हो र ? किताबी विद्याले मात्र कोही पार लाग्दैनन्। व्यावहारिकता पनि सिकाउनु पर्छ भन्न खोजेकी मात्र हो।”
पत्नीले नि सम्झौतामा ल्याउने प्रयास गरिन्।
“ब्यर्थको उल्झनमा किन अल्झाउनु उसलाई ? जसरी हुन्छ त्यसले ” ए प्लस” ल्याउनै पर्छ।” -उनको ढिपी निर्धक्क बोल्यो।
“मैले माने। अरूले तयार पारेको पुस्तक घोकेर सम्मानजनक स्थान ओगट्न सक्ला। तर घरेलू संस्कार पुस्तकमा पाइँदैन। तपाईँलाई थाहै छ, परोपकारको ज्ञान घरबाट नै शुरू हुन्छ।”
“भो! बेलिविस्तार नलगा अब। त्यसको उज्वल भविष्य सोंच् ।”-अहिले झनक्क रिसाए उनी।
विनम्र स्वरमा उनले भनिन्-“पछि आफू रक्तचापले चटपटाउन नसकी ‘पानीले न छोरा, म औषधी खान्छु’ भन्दा ” ए प्लस” छोराले आफैँ सारेर खानुस् न भन्यो भने के भन्नुहुन्छ ?”