चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १
‘जसलाई जे जे गर्न मन लाग्छ गर, तर म बाँचुञ्जेल टेक्न र छुन पनि दिन्न, बेच्न र भाग लाउन त परै जाओस।’ कुश पनि अंशकै रुपमा काटन खोजेका र आँगनमा मुठा पार्दै गरेका दुई दाजुभाइको झण्डै कुटाकुट भएको । आमाले छुट्याइन। जेठा कमलोपाध्या बारीबाट अँगालोभरी कुश काटेर बाउको मुख हेर्ने दिनमा पनि नबोली डेरातिर लागे।
बाउ कृष्णपाध्याका झण्डै सयजना जजमान। सबै आफैँ भ्याउन खोज्थे तर सक्दैनथे । ‘बुवाले भनिदिनु पर्यो नि को कहाँ जाने ? माईलो छोराले मुख खोल्यो।’
‘तिमीहरुले आफ्ना जजमान आफैँ आफैँ कमाउने मेरो कसैले चासो राख्नु पर्दैन।’ अर्कोपटी फर्खेर बुढा जङ्गिए । जाने बेलामा कान्छोले खुट्टामा ढोग्न खोज्यो बुढाले झण्डै लात्तले बजारेका आमाले छुट्याइन।
तीनै जना छोरालाई कृष्णपाध्याले आफुजस्तै पण्डित बनाए । बिवाह पछि छोराहरु बदलिए र अंश मागे र हेरचाह समेत गर्न छाडे भन्ने उनको गुनासो गाउँले र छर छिमेकले दिनभरी सुन्नु पर्थ्यो । पहाडको सबै खेतबारी बेचेर ल्याउँदा जोडेको पाँच कठ्ठा जग्गामा लहरै घर बनाओभन्दा कसैले मानेनन् ।
‘बुवा म लगिदिन्छु नि हजुर किन दुःख गर्नुहुन्छ । अव त आराम गरेर बस्नुहोस । मलाई जिम्मा लाए भइगयो नि ।’ ‘तँ बजिया पनि कम छैनस, अब त तँ मेरो कर्मको पनि अंश खोज्ने भइस ।’ ‘होइन बुवा त्यसरी किन रिसाउनु भएको म सहयोग गर्छु पो भनेको ।’ माइलोले फकायो ।
‘दुई हजार दिन्छु भन् न मान्नुहुन्छ ।’ आमाले चिया दिँदै खुसुक्क छोराको कानमा भनिन् । दुईहजार रुपैया हातमा राखेर छोराले बुवालाई ढोगिदियो । अहिले भने बुढाले केही प्रतिकार गरेनन् ।
‘सधैँ छोराहरु रिसाउँछन् हाम्रो घरमा त चाडपर्व पनि नआएजस्तै हुन्छ । उनीहरुको पनि त व्यवहार बढ्यो, समस्याहरु थपिए। यो जगा जमिन अव कस्ले खान्छ ? हामी अस्ताउँदो डाँडाको जून भईसक्यौँ, हाम्रो शेष पछि झन ठूलो कलह हुन्छ किन बुझ्नु हुन्न ?
‘तिमी चुप लाग नाथेहरुलाई म कर्म सिकाउँदै छु ।’ उनी सुटुक्क पूजा कोठातिर छिरे ।