“कलम”


अम्बिका धिताल
कमलविनायक भक्तपुर

निलो ,कालो ,हरियो ,रातो थरीथरी
रङ्ग्याइदिन्छ अक्षरले आहा !पाना भरि
चित्र पनि कोर्दछ सबको मन छोएर
कलमले लेखिदिन्छ मनको बह धोएर।

राम्रो लेख्दै लेख्दै गए पुर्याउँछ माथि
हामी सबै विद्यार्थीको कलमै हो साथी
डाक्टर ,पाइलट ,शिक्षक बनाउने कलम
दुःख पीडा पर्दा खेरि लगाइदिने मलम।

अन्धकार हटाउने कलमै हो दियो
उन्नति र प्रगतिमा सबको बन्छ मियो
रङ्ग,रूप, आकारप्रकार अनेक थरी भेष
बगली र झोला अनि सजाइदिन्छ केश।

कलमले मानिसको कोरिदिन्छ गाथा
लेखौँ,कोरौँ पछ्याऔँ सधैं नछोडौँ साथ
बलियो छ कलम यो सबको हतियार
कहिल्यै पनि नफालौ गरौं धेरै प्यार।

गीत ,कथा ,कविता र नाटक लेख्छ धेरै
असल मान्छे बन्नलाई लाग्दैन नि बेरै
वैज्ञानिक बनेका हुन् कलम नै जोतेर
इन्जिनियर पाइलट बने कापी पोतेर।

हत्या हिंसा अन्त्य गरी विश्व शान्ति ल्याउने
कलम हो शक्तिशाली प्रयोग गरौँ जहिले।
कलमको प्रयोगले सधैँ बढाउँछ शान
सत्कर्ममा हिँडाएर सबको राख्छ मान।