“कानको मुन्द्री”

तुलसी पण्डित

आमा मत स्कुल गइन है । “हैन के भन्छ यो ?” “हो आमा स्कुलमा कडा नियम लादिएको छ ।” ” के नियम हो बाबु त्यो ?” “के भन्ने आमा आज सरहरुको न राम्रो संँग हप्की दप्की खान पर्यो ।” “किन बाबु ?” “आमा म तपाईलाई यि कुरा कसरी भन्यौँ ? म यस कुराले आफैं प्रताडित भएको छु । फेरि तपाईलाई त्यसको भार बोकाउन चाहन्न ?” “भनन बाबु म समाधान गर्ने कुनै उपाय निकालौला ।” “आमा मैले लगाउने ड्रेस सबै च्याँतिएर काम न लाग्ने भयो । जुत्ता पाइट सट सबै धुजा धुजा भएका छन् । लाउन हुने सम्म लाएकै हो । अब लगाउन मिल्दैन ।

सरहरु एकोहोरो ड्रेस खोइ लगाएर आएको भन्नुहुन्छ । अब ड्रेस लगाएर न गए स्कूलको गेटबाट मलाई छिर्न न दिने रे ?” “तिमीले आफ्नो अवस्था बताएनौ सरहरुलाई ?” ” भनेकै हुँ तर गरीवको पिडा प्रति उहाँहरुको सहानुभूति भए पो । झन् उल्टै बकुल्लाको बथानमा काग कसरी आयो भन्नु हुन्छ ।” “हेर गरीव भए पनि तिमीले सफलता हासिल गर्दै गएका छौ अब शिखर चुम्नु छ । दश कक्षाको पढाइ त झन् छोड्नु हुँदैन बरु तिम्रो जुत्ताको साइज र पुराना सटपाइन्ट देऊ । म आज दिन भरीमा कुनै उपाय निकाल्ने छु ।” आज पनि छोरो अँध्यारो मुख लगाएर घर आयो ।”आमा आज म झन् स्कूलको गेटबाट भित्र छिर्न नै पाइन ।” “अब ढुक्क भएर पढ्न जाऊ बाबु मैले तिमीलाई सबै कुराको ब्यवस्था गरे । बरु मिल्छकि मिल्दैन लगाएर हेरत ।” छोरो जिल्लियो । घरमा खाने गहुँको पिठो छैन । यति धेरै सामान कसरी आई पुग्यो । छोरो त्यही ड्रेस लगाएर स्कूल जान थाल्यो । स्कूलबाट फर्किएर आएपछि उसको आँखा आमाको कानमा पुगे । मुन्द्री छैन । “आमा मुन्द्री खैं ?” ” हो बाबु मेरो अरु कुनै उपाय थिएन । मैले तिमीलाई त्यै मुन्द्री बेचेर ड्रेस किनिदिएको हो ।”