लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही
यात्रु प्रतिक्षालयमा सार्वजनिक बस आएर रोकियो ! बस पर्खनेहरुको भिड थियो ! बलिया युवायुवतीहरु त ठेलठाल गरी बसमा चढे ! एउटा खुट्टा नभएको, बैशाखी टेक्ने शारीरिक अशक्त शिव र जेष्ठ नागरिकहरुलाई भने बस चढ्न निकैबेर लाग्यो ! उनीहरू बडा सकसले बल्लतल्ल बसमा उक्लिए !
बसभित्र पनि भिडभाड थियोे ! अशक्त र जेष्ठ नागरिकलाई छुट्याइएको सिटमा त युवायुवती पो आनन्दले बसिरहेका थिए ! यहाँ पनि निकै लामो तर्क बितर्कपछि मात्र उनीहरूले आफ्नो आरक्षित सिट भेट्टाए ! बसका चालक, सहचालकहरुका कर्कश हप्काइले यात्रुहरू पिडित भएर यात्रा गर्दै थिए !
सहचालक भाडा उठाउँदै आयो ! फेरि पनि सहचालकको ओठबाट विवादको कर्कश ध्वनि निस्कियो ! बृद्धबृद्धाले यत्ति भनेका हुन् ,” हामी जेष्ठ नागरिक हौँ ! भाडामा सरकारले तोकेको सहुलियत देउ ! ”
अशक्त यात्रु शिवले पनि यत्ति भनेको हो, ” म अशक्त हुँ ! भाडामा छुट गर ! ”
सहचालक च्याँठ्ठिएर कर्कश स्वरमा बोल्यो,” कार्ड छ, कार्ड ? ”
बृद्धबृद्धाले त जेष्ठ नागरिक परिचयपत्र बोकेका रहेछन् ! देखाए ! शिवले अशक्त परिचयपत्र बोकेको रहेनछ ! सहचालक फेरि चर्कियो, ” कार्ड बिना पाइन्न छुट ! ”
“मेरो एउटा खुट्टा छैन ! यी हेर ! घुँडामाथि काटिएको ठूटो ! बैशाखी टेकेर हिँड्छु ! म शारीरिक अशक्त होइन?”
यतिखेर शिवको मनको आकाशमा आशङ्काको बादल मडारिन थाल्यो !
सहचालक भने अझै भन्दै थियोे, ” तपाईँको खुट्टा होस् कि नहोस् ! मलाई के मतलब! मलाई त कार्ड चाहिन्छ,कार्ड!”
वागमती ११, कर्मैया, सर्लाही