“कृषकको आँखामा फागुन”

घनश्याम रेग्मी

तोरी छिनेर कतिले खलिहान हाले
जोतेर गोरु फरफर्र जमीन पारे
केराउले नव झिके कलिला मुना ती
कोसा र फूल भरिए नव बोटमाथि ।

लै लै गरी पवनका गतिमा भुलेका
हावा चलेर गँहु फर्र भई रहेका
बाला निकाल्छ गँहुले मुखसम्म टम्म
कस्तो कला प्रकृतिको छ अहा ! अचम्म ।

ठन्डा बिहान पखमा दिनमा छ ताप
बाँकी अझै शिशिरको खल दुःख चाप
मागी वसन्त ऋतु साथ गरी उधारो
खर्चन्छ फागुन बतास गरेर फारो ।

कोसा फलेर कुटिली छ तयार हेर
बेथे फुली चमकदार भएछ फेर
पोटी बढे लसुनका छ सपाट गाला
माला लगाउन तयार भएछ चाला ।

छन् आलु प्याज वयमा लयदार हाँसो
पानी सिचाइ नपुगे बहुतै गुनासो
गोष्ठी हुदैछ कविको रस रङ्ग भाँत
लोभ्याउने किसिमको छ मिठास खास ।