उद्धाव प्याकुरेल उद्धाव
सानाे ठिमी भक्तपुर
“के छ साथी हो खबर ? तिमीहरू आनन्दले घरमै पो बसिरहेका छौ । तिमीहरूको काम पनि त्यति कहाँ छ र ? ल, हेर मैले त घाँसको भारी ल्याइसकेँ । यसरी काम नगरे तिमीहरूले कसैको माया पाउँदैनौ है !” पिँढीको छेऊबाट घाँसको भारी भएको डोकाले हाँस्दै भन्यो । घाँसको भारी सँगै रहेका नाम्लो र हँसियाले पनि हो मा हो थपे ।
डोकाको कुरा सुनेर पिँढीमा बसिरहेको कुचोलाई झोँक चल्यो । उसले पनि तुरुन्तै जवाफ फर्कायो, “तिम्रो काम भारी बोक्ने हो । तिमीले घाँसको भारी नबोकेर कसले बोक्छ त ? मैले बिहानै घर आँगन बढारे र सफा बनाएँ । यो कुरा तिमीले थाहा पाएनौ है ।”
“यो डोकाले उसले मात्रै बढी काम गरेको भनेर धाक लगायो । मैले खेतबारी नखने घाँस उम्रँदैन । घाँस नउम्रे यसले कहाँबाट घाँसको भारी ल्याउँछ ?” पिँढीको एक छेउमा बसेका कोदालो, कोदाली र चाँदेले एक साथ भने ।
“हो त नि, म पनि त घाम लागेका बिस्कुन सिकाउन काम लाग्छु । मानिसहरू म माथि बसेर आराम गर्छन् । म भकारी बनेर अन्नको सुरक्षा गर्छु । यस्तो कुरा डोकालाई के थाहा ?” फलैँचाबाट गुन्द्रीले भन्यो ।
“काम भनेको त परेको बेलामा गर्ने हो नि त साथी हो । पानी पर्दा म नभै हुन्न क्यारे । डोको ओढेर पानी छेकिँदैन त ।” भित्तामा झुन्डिरहेको घुमले भन्यो ।
“म गाई बाख्राको घाँटीबाट फुत्किएँ भने के हुन्छ साथी हो ? हो, गाई बाख्रा आफैँ गएर घाँस चर्छन् । अनि डोकाले घाँस बोक्न पाउँछ त ?” गाई बाख्राको घाँटीमा झुन्डिरहेको दाम्लाले भन्यो ।
सर्मिला र समिर खेल्दै आए र मुढामा बसे । सबैको कुरा सुनिरहेको मुढा गज्जबले हाँस्यो । उसले भन्यो, ’ साथी हो, हामी घरेलु सामान हौ । हामी सबैको फरक फरक कामका लागि प्रयोगमा आउँछौ । कसले धेरै काम गर्छ कसले थोरै काम गर्छ भनेर विवाद गर्नु आवश्यक नै हैन । कामका लागि हामी सबैको महत्व छ । म बस्न मात्र काम लाग्छु । पहिला पहिला मानिसहरू पिरा चकटी र गुन्द्रीमा बसेर आराम गर्थे । अहिले मुढा, कुर्सी र सोफा बनाएर त्यसमाथि बस्छन् । अहिले त घाँस काट्ने मेसिन बनिसकेको छ । ट्याक्टर, साइकलमा घाँस बोक्न लागे । हेर्दा हेर्दै गाउँघरमा घरेलु सामानको धेरै विकास भइसकेको छ । हामीचाहिँ को ठुलो र को सानो भनेर विवाद गर्छौ । कसले धेरै काम ग¥यो भनेर चर्चा गर्छौ । यसो गर्नु बेकार हो । हामी सबै आफ्ना आफ्ना कामका लागि उपयोगी छौँ ।
बढी बोलेकामा पछुताउँदै र लाज मान्दै डोकाले घोसे मुन्टो लगायो ।