अम्बिका कँडेल
कक्षा ६ की सरिता,
पेट दुख्यो भनेर छटपटीइन्।
अफिसमा ल्याएँ,
एक गिलास पानी पिएपछि,
मैले सोधेँ –
बिहान के खाएर आएकी?
आँखा पिलपिल पार्दै भनिन्-
“आज केही नखाइ आएको।”
बिचरा! भन्दै
चमेनागृहमा लगी,
सुरेस सरले केही खुवाउनुभो।
पेट दुख्न सन्चो भो,
आज सुरेस सरले खुवाउनु भो,
भोलि अर्को सरले खुवाउनु हुन्छ,
खाजा किन चाहियो?
सोहीकक्षाकी की बिना,
लेख्न सकिन भन्दै ,
रुदै थिइन्।
बाउ आमा लड्दा,
झुक्किएर उनको हातमा लागेछ,
सुन्निएछ, लेख्नै मिलेन
रुदै भनिन्-
आज भात खाएकै छैन।
करुणा मेडमले,
आफुलाई ल्याएको
नास्ता खुवाउनु भो,
नजिकको
स्वास्थ्य चौकी पुर्याउनु भो।
आज मेडमले खुवाउनु भो,
भोलि अर्को मिसले खुवाउनु हुन्छ।
नास्ता किन चाहियो?
नरेशले हिजो गृहकार्य गरेन,
शान्तपुर्वक भन्यो-
कापी छैन सर।
आमाले कापी किन्न दिएको पैसाले ,
एउटा समोसा खाएँ।
निकै भोक लागेको थियो।
हेडसरले एउटा कापी दिँदै भन्नुभो,-
भोकै बस्न हुन्न है बाबु!
आज हेडसरले दिनुभो,
भोलि कर्मचारीले दिनुहुन्छ।
खाजा किन चाहियो?
नितिनको टिफिन,
कक्षाबाट हराएछ,
चोर पत्ता लागेपछि पनि,
दण्ड दिन हात उठेन,
ऊ पनि त भोकै थियो कठै!
मुखेशको खाजा धेरै रहेछ,
बाँडिचुडी खान सिकाएँ।
आज एउटा साथीले दिए,
भोलि अर्को साथीले दिन्छन् ।
खाजा किन चाहियो?
खोला बेच,नदी बेच,कमाउ
इमान बेच , स्वाभिमान बेच कमाउ,
देश चिर,खण्ड खण्ड बनाउ,रमाउ
भागबन्डामा देशको बिलो लगाउ
खाँदेर निल अनि ,मोटाउ,
खाजा किन चाहियो?
ती कलिला भोका पेटहरुलाई,
अभावमा हुर्केका मुनाहरुलाई।