“खास रैछ बाँस”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बाँसटारी घर मेराे बाँसारूखे भन्छन्
चित्रे कान्छा भनेपछि बुबालाई चिन्छन्।

काटी चिरी बाँस अनि निगालाका बाेट
बनाउनु हुन्छ बुबा बस्तु धेरै थाेक।

एकदिन बाँसबारे भन्नुभयाे बाले
ध्यान दिई मैले पनि कुरा सुन्न थालें।

बाँस हाम्राे ठूलाे धन सुन मेराे कान्छा
यसैबाट चलेकाे छ हाम्राे भात भान्छा।

कपाल काेर्ने काइँयाे त बच्चा सुत्ने काेक्राे
आगाे फुक्ने ढुङ्ग्राे बन्छ बाँस हुन्छ खाेक्राे।

पेरूङ्गाेमा माछा, सिद्रा, च्याउ आदि बाेक्छन्
कुखुरा र हाँस बाेक्न ढाकर याे खाेज्छन्।

बट्टाई राख्ने पिँजडा याे काबुज हाे नाम
नली हेर यतापट्टि हुक्का तान्ने काम।

भारी बाेक्ने डाेकाे बाबु अन्न राख्ने डाली
काेही खाेज्छन् थुन्से बाबुु काेही राेज्छन् साेली।

सुकाएर मान्द्रामाथि अन्न भकारीकाे
फुँगाेभित्र राखी लान्छन् महिलाले पाेकाे।

अन्नपात केलाउन पर्याे भने सुपाे( नाङ्लाे)
घरचाेक सफा गर्न ल्याऊ सिठाे कुचाे।

बाख्रा पाडा बाँध्नु परे किलाे ठाेक्कु पर्छ
उस्तै परे चाेया काढी दाम्ला बाट्नु पर्छ।

बजाउन बाँसुरी याे मुडामाथि बसी
गाेबुवामा दूध दाेऊ घुँडा धसी धसी।

रिटिङ् रिटिङ् बजाएर बिनायाेकाे बाजा
दुःख पिर बिर्सिएर मन राख ताजा।

बाँसबाट साेफा ,कुर्सी फुलदानी बन्छन्
ढकियामा फूल राखी मन्दिरमा जान्छन्।

हाँडीभित्र मकै राखी कप्टेराले भुट
सिन्का लिई टपरी याे राम्रासित खुट।

घुम ओढी राेपाइँका मेलातिर जाऊ
खाेला थुनी दुवालाेले माछा मारी ल्याऊ।

तर्काएर फाल्न परे बलेनीकाे पानी
बनाउन डुँड राम्राे बाँस ल्याऊ छानी।

कागजको कारखाना चल्छ बाँसबाट
जडिबुटी धेरैथरि बन्छ यसैबाट।

ढलाइकाे काम परे राख्ने गर्छन् टेका
तारबार गर्नु परे हुन्छ यस्कै छेका।

नसकेमा हिड्न काेही लठ्ठी टेक्न थाल्छन्
मरी हाल्याे भने काेही बाँस काटी हाल्छन्।

घर पनि बाँसकै छ चट्ट पर्या हाम्राे
बाँस धेरै गुणकारी वनस्पति राम्राे।

गाईवस्तु घाँस खान्छन् मान्छे तामा टुसा
बाँस कति उपयाेगी बुझ्याेै कि त उषा ?

जन्मदेखि मर्दासम्म खास रैछ बाँस
थात, बास, गास सबै धन्य रैछ बाँस।