“खीर खाएँ मैले”

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

असारकाे पन्ध्र पारी दही च्यूरा खायाैँ
साउनकाे पन्ध्र आज खीरतिर लायाैँ।

भदाै पन्ध्र मकै पाेली खानु पर्छ आफै
पुस पन्ध्र घिउ खट्टे खानु पर्छ राजै ।

माघ पन्ध्र मालपुवा खानु पर्छ नानी
फलफूल सागसब्जी खाने राम्रो बानी।

सानिमाले भन्नुभयाे कैले के के खाने
गाउँघरे चल्ती चलन् आज मैले जानेँ ।

लैनु भैँसी घरै पाली टनाटन दूध
साउनमा खीर खाँदा हुन्छ अरे शुभ ।

दूधसित चामलमा घिउ चिनी राखी
खीर मिठाे पकाउन थाल्नुभयाे काकी ।

नरिवल जाइफल छाेडा अलिकति
काजु पेस्ता मिलाएकाे खीर मिठाे अति ।

साबुदाना सेवइ र मकै गाजरकाे
बन्छ भन्ने पनि सुनेँ खीर निकै मिठाे।

थपी थपी चाटी चाटी खीर खाएँ मैले
खीर दिवस् खीर खान भुल्ने छैन कैले ।