
रञ्जुश्री पराजुली
टुक्रा टुक्री तान तुन गरेर
जोडेको बुद्धि ,वल र परिश्रमले
रङ्गी चङ्गी फल फुलाउँदै
मगमगी वास्ना चैतर्फी
फिँजाएको
पौरखी हातहरुले
क्षमता चतुर्याइँ र विवेकले
एकमाथि अर्को गर्दै मित्रताको
हातेमालो कसेको
दृष्टि सापेक्षमा नजर घुमाउँदै
जुँघामा ताउ दिँदै
कम्मरमा बाँधेको पटुकीभित्र
घुसाएको गोरखे
हतियार खुकुरी
सुम्सुम्याउँदै मुस्काएको
फिजिएका औँलाहरु पड्काउँदै
मुठ्ठी कस्न हतारिदै
आमैले थालमा पस्केको
तातो भातको गाँस
मुख भित्र कोचेको
त्यस्तै दृढ़ताले
टुक्रा माथि टुक्रा थप्दै
विभिन्न जात र वर्ण
एकीकरण रुपी माला गँसेको
त्यस्तो वीर तिमी कहाँ हरायौ
तिमीले एक एक गरेर जोडेका
फुलका थुङ्गा टुक्रिदै र खस्दै छन्
तागत र हैसियत भए तिमी
फेरी एक पटक पृथ्वी
खुल्ला रुपले देखा पर
पटुकीमा घुसारेको खुकुरीलाई
भुत्ते नबनाउ
टल्काउँदै
टिलिक्क पाइन हाल
त्यस्को टलकले नै
तिम्रो खुकुलीएको एकताको गाँठो
कसिएर एकता बद्ध हुनेछ।





