तुलसी पण्डित
आजकलका केटाकेटी के भएका हुन् कुन्नि ? खुत्रुकेको चलन पनि हरायो । पहिलेका केटाकेटीहरु खाजा खान दिएका पैसा न मासिकन खुत्रुकेमा जम्मा गर्थे रे । अझ हजुरबाबा भन्नुहुन्थ्यो । ” विभिन्न चाँडबाडमा टिका लगाएर पाएको पैसा उनीहरु खुत्रुकेमा खसाल्थे । उनीहरुको साथी साथी बिचमा होडबाजी चल्थ्यो । कस्ले धेरै पैसा जम्मा गर्ने भनेर ।”
खुत्रुके भरिए पछि फुटाल्थे । त्यो भरीन दुई बर्ष लाग्थ्यो रे । त्यै पैसा ब्याजमा लगाउँथे रे । हजुर बा अझ भन्नुहुन्थ्यो । यसैगरी हामीले पनि खुत्रुके ल्याएर पैसा जम्मा गरिन्थ्यो । यसरी जम्मा भएको पैसाबाट बाख्रा किनेर अधिया पाल्न दिइन्थ्यो । बाख्राबाट भैसी किनिन्थ्यो ।
उफ ! अैले त केटाकेटीहरुले पैसा पाएका हुन्नन् । उत्ति खेरै थन्काउन दोकान पुग्छन् । त्यति मात्र हो र घरमा बनाएका कुनै चिज खान्नन्। दोकानका तयारी चिजमा रमाउँछन् । पैसा माग्छन्। न दिए बन्द हड्ताल गर्न थाल्छन् ।
साँच्चै भन्नु पर्दा हजुरबाले दस रुपयाँ खर्च गर्नु पर्यो भने पचास चोटी सोच्नु हुन्थ्यो। आमा सँग सरसल्लाह गर्नु हुन्थ्यो ।
“हेर बूढी भैसी बेचेर पैसा हात पर्यो अब के गर्ने ?”
“ल मन वीरेले गैरी खेत बेच्ने भनेको छ ।त्यै किनौ ।हामी सँग सगालिएको केही पैसा छ ।फेरि मैले दुईवटा खुत्रुके भरेर राखेको छु । न पुगेको ऋण खोजौ ।”
यसरी हजुर बाले पैसा खर्च न गरि खेत धेरै जोड्नु भयो । त्यस्तै बाले दस रुपयाँ खर्च गर्दा सयपल्ट सोच्नुहुन्थ्यो । जस्ले गर्दा बाबाले भब्य महल बनाउनु भयो ।
“अहिले नाति दस रुपयाँ खर्च गर्नु पर्दा एकपल्ट पनि सोच्दैन । जस्ले गर्दा उसलाई घर ब्यावहार चलाउन निकै समस्या भएको छ ।”