“खुर्सानी”

केशवराज अधिकारी
मध्यनेपाल ७ लमजुङ

पिरो भयो ह्वाई ह्वाई
भएँ म त भुतुक्कै।
तर्कारीमा खुर्सानी
नहाल न फिटिक्कै।

जिरे,डल्ले,अकवरी
कोहि लामा लामा छन्।
सानो सानो भए पनि
जिरे रैछ पिरो झन् ।

नसारेनी हुन्थ्यो बरु
खुर्सानीका बिरुवा।
कि त फल्दै नफले
हुन्थ्यो यस्ता पिरुवा।

कतै तिते करेला
कतै पिरो खुर्सानी।
मलाई मनै पर्दैन
नपकाए हुन्थ्यो नि।

अलि अलि पिरो त
खाऊ भन्छिन् आमाले।
अझै पिरो हरियो
टोक्नुहुन्छ बाबाले।

अमिलो र टर्रो,तितो,
पिरो खानु पर्छ रे।
पछि पछि बानी हुन्छ
भन्छन् दाई दिदीले।

खानै पर्छ भने त
खाओ तिमी सबैले।
पछि बिचार गरौँला
खाँदै खान्न म ऐले।