“खुसी”

131

रचना शर्मा

“मम्मी! आज त ट्युस्डे पो रैच, मैले सन्डे मन्डेको ड्रेस लाउँदा सम्झाउन पर्थेन ?” स्कुल छुट्टी भएर घर आउने बित्तिकै ठुल्ठुलो स्वरमा छोरीले भनिन् ।”ए.., हो त आज ट्युस्डे । मैले त बिर्सेंछु, तिम्ले पो याद गर्नुपर्थ्यो त! मैले मात्र के के सम्झनू ! जे होस्, हेरिनसक्नु हुने तिम्रा सेता जुत्तामोजा र सेतो फ्रक एकदिन भए पनि धुन परेन मलाई । आनन्द भयो…।” उज्यालो अनुहार पारेर आमा बोलिन्।
“ओहो ! म खुसी हुँदा हजुर दुखी हुने, म दुखी हुँदा हजुरलाई खुसी लाग्ने रहेछ हगि ?”
“किन त्यस्तो भनेकी नि ?”
“धेरैजसो ट्युस्डेकै दिनमा हाम्रो ड्रिल पिरेड हुन्छ । रमाइलोसँग खेलेको दिनमा कपडा फोहोर बनाई भनेर हजुर दुखी बन्नुहुन्छ ।”
अनि तिमी कसरी दुखी भयौ त आज ? रमाइलोसँग खेलेकै हौली नि ?”
“सबै साथीहरूलाई सरले खेल्न लैजानुभयो । मलाई चाहिँ प्रपर युनिफर्म नलगाएकोले एक्लै क्लासमा बस्नुपर्यो ।”