“गरिबको जाडो”

134

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

कमिजमाथि स्विटर र ज्याकेट लाएर
मुखियाको छोरा हिँड्छ गीत गाएर।

जड्यौरीले छोपेको दुब्लो जिउ छ
आफूलाई त जैले नि स्यूको सिउ छ
हाम्रो शिरले ऊनीको टोपी देख्दैन
पातलो यो गन्जीले जाडो छेक्दैन।

जुत्तामोजा लाए पो गोडा फुट्थेन
अनि बल्ल जाडामा रिस उठ्थेन
मुखियाका घरमा बाले वर्ष बिताए
आफू हारे कामले उनलाई जिताए।

न त मीठो खाएका राम्रो लाएका
उनकै खेत गरेर दुःख पाएका
सकिन्जेल गरिबको हड्डी घोटाए
हाम्रा बाका दु:खले साहु मोटाए।

दिनरात घोटिँदा नि कमाइ भएन
काम छोडेको भोलिपल्ट क्यै नि रहेन
दयालु भै टोपलिए थाङ्ना दिएर
उध्रिएका कपडा लाउँला सिएर।

नयाँ लुगा दिन उनलाई कत्रो सकस
मुखियाका दौरा सुर्बाल् बालाई बकस
सधैँभरि जड्यौरी थोत्रा लाउँछन्, बा
हाम्रा अब सुखका दिन कैले आउँछन् बा ?