गुँड

रम्भा पौडेल

धेरैपटक असफल हँदा पनि हार नमानेको तोप चराले फेरि आफ्नो गुँडमा पोथी भित्र्याउने प्रयास गर्यो “कान्छी ! मैले चिटिक्क पारेर गुँड बनाएको छु नि । हिड न हेर्न।”
“हो र ?” नयाँ पोथीले आश्चर्य प्रकट गरी।
भालेले “होनी” भन्दै जवाफ फर्कायो। पोथीले सोधी, “कस्तो ठाउँमा बनाएका छौ त ? धेरै कोलाहल हुने जंगल हो कि शान्त ठाउँ ? अथवा मरुभूमिको पोथ्रे बुट्यान जहाँ तातो हावाले सेक्छ ?”
“हैन हैन । पहिले कुरा त सुन ।“ भालेले भन्यो ।
“मलाई त सास फेर्न पनि नमिल्ने ठाउँमा गुँड बनाएको त मनै पर्देन ।” उसले जवाफ फर्काई ।
“होइन, तिमीले हेर्दे नहेरी पहिले टिप्पणी नगर न । पहिला हेर्न त जाउँ ।” भालेले जिद्दी गरयो । धेरै जिद्दी गरेपछि पोथी गुँड हेर्न बाध्य भई ।
दुवै बेगले उड्दै त्यो गुँड भएको ठाउँमा पुगे। भालेले घुमिघुमिकन आफुले बनाएको गुँड हुनेवाला प्यारीलाई देखायो र भन्यो, “तिमीलाई यो गुँड मन परयो ? मैले धेरै मिहिनेत गरेर यो तिम्रोनिम्ति बनाएको हुँ । मलाई यो बनाउन छ महिना लाग्यो । हेर न ?”
“मैले विभिन्न रंगका घाँस बटुलेको छु । बाहिरबाट कति राम्रो र बलियो छ । भित्र न्यानो र सुरक्षित छ ।” उसले आफ्नो घरको प्रशंसा गर्यो । हरियो जंगलको बीचमा रंगिन बनाएको त्यो गुँडले पोथीको मन पगाल्यो । पोथी गुँडभित्र पसी । भाले खुशीले गद्गद् भयो ।