आचार्य प्रभा
हाल-नेपाल
बगैँचामा फूलहरू ढकमक्क फुलेर बगैँचा सुन्दर देखिएको छ। बेली,चमेली,डेलिया,सयपत्री,गोदावरीहरू हावाको मिठो बहावसँगै मुस्कान छर्दै झुली रहेका छन्। म बगैँचामा मदमस्त बनेर डुली रहेछु। मेरा आँखाहरू फूलको सौन्दर्यमा मनमोहक बनी रहेका बेला म एक्कासी गुलाबहरूतिर नजर फ्याँक्छु।
यता गुलाबहरू पनि ढकमक्क फुलीरहेका छन्। यस्तो लाग्छ,गुलाबहरूले मानौँ आफ्नो बैँशालु सौन्दर्य चेतनाले सबैको ध्यान आकर्षित गरी रहेछन्। तर….अफ्सोच !सबै गुलाबहरू किन किन निरस र निरीह देखिन्छन्। आफ्नो रंग,रूपलाई नै तिनीहरूले धिक्कारी रहे झैँ लाग्छ। मानौँ रगं छरेर फुले पनि आफूलाई बेरंग झैँ ठानी रहेछन्।
गुलाबहरूको निरीहावस्था देखेर म त्यतै लाग्छु र एउटा गुलाबलाई बडो जतनले मुसार्दै म आफैँ फुस्फुसाउँछु।-“आहा!कति सुन्दर? यस्तो सुन्दर गुलाब त कहिल्यै नओईलाउँनु,नझर्नु नि!”
मैले यति मात्र के भनेंथेँ। एउटा सुन्दर गुलाबले शीत झैँ आँसु झार्दै भन्यो।-“प्रकृतिले हामीलाई सुन्दरता र हत्तपत्त नओईलिने,नझर्ने आयु त दिएको छ नि ! तर के गर्नु? पापी हातहरूले आफ्नो देखावटी माया प्रदर्शन गर्न र प्रेमोपहार दिन हाम्रै गला निर्ममतासाथ निमोठेर हाम्रो हत्या गर्छन्। जसले सुन्दरताको बयान गर्छ। उसैले हाम्रो अस्तित्व मेटाउँछ।”
यो आवाज सुनेर म बिक्षिप्त बनें र झस्किएँ। अहो!भोलि त प्रेम दिवस अर्थात अंग्रेज़ीमा रोज डे पनि भन्छन् क्यारे! मलाई पनि राजिवले सधैँ गुलाब नै प्रेम दिवसमा दिने गरेको छ। अँ हँ ! अब म गुलाबको गला निमोठेर दिएको उपहार लिन्नँ। साँचो प्रेमको अर्थ कसैको हत्या गर्नु होईन।”
यति भन्दै म झसंग बिउँझिएँ। बिउँझिंदा अनुहारमा चिट् चिट् पसिना आएछ। मुटु पनि जोडले ढुक्ढुकी रहेको रहेछ।यसो टेबलमा हेर्दा फूलदानीमा गुलाबको गुच्छा मलिन मुहारमा मुस्काई रहेको रहेछ।