“घाँसीको पुनर्जन्म”

206

(भानुजयन्तीको उपलक्ष्यमा घाँसी प्रति समर्पित लघुकथा)

शुक्रराज कुँवर
बलभद्रपथ धरान १०

आषाढको महिना झमझम पानी परिरहेको थियो । एकजना किसान बिहानै खेतमा झरेका मध्यान्ह घाँसको भारी बोकेर उकालो लाग्दै थिए । चौतारीमा भारी बिसाए । टोपीले मुख पुछ्दै थिए पारी डाँड़ो पहिरोले खर्लप्प खायो ।
“उफ ! यो बाढी पहिरो , कुनबेला आफ्नै घरबारी खान्छ होला उनी पिरोलिए । धेरै वर्षदेखि उनी प्रकृतिलाई नियालीरहेका थिए । बाढी पहिरो ,अतिवृष्टि ,अनावृष्टि , खड़ेरी , कहिले उखुम गर्मी ,कहिले उधुम जाड़ो आदिको रुपमा प्रकृतिले ताण्डव मच्चाउँथिन् ।


पृथ्वी सबै जीवजगतको साझा वासस्थान हो । तर आफूलाई चेतनशील मान्ने मान्छे नै वातावरण विनाशको कारक तत्व भएको कुरा उनलाई हेक्का थियो । यसैले उनी सानो प्रयास स्वरुप प्रकृति बचाउन भनेर घाँस बेचेको पैसाले वृक्षारोपण गर्दथे ।
घाँसको भारी बोकेर उनी हिड़न खोज्दै थिए, त्यसैबेला केही परबाट बुढो मान्छे खोकेको आवाज आयो । भारी छोड़ेर हत्तपत्त बुढो मान्छे नेर पुगे । अनौठो रुप धारण गरेका वृद्ध देखेर आश्चर्य प्रकट गर्दै सोधे – ” बा ! तपाईँ को ? ”
“म घाँसी हो बाबु ! तिमी पनि म जस्तै सत्कर्ममा लागेका रहेछौ तिमीलाई देखेर मन प्रशन्न भयो अनि प्रकट भएँ ।”
“अनि तपाईँ किन यति बिघ्न बिरुप ? ”
दूषित पर्यावरणको कारणले हो यो । आज भानुजयन्ती पनि हो । भानुभक्त मेरै प्रेरणाका उपज हुन् । उनले भाषाको एकिकरण गरे । आज मानिसहरु भाषा साहित्यको जगेर्ना गर्न लागिपरेका छन् । तिमी पनि म जस्तै सत्कर्ममा लागेका रहेछौ । कर्म गर्दै जाउ , तिम्रै प्रेरणाले कुनै दिन मानिसहरु पर्यावरण जगेर्ना गर्न लागि पर्नेछन् ।