खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
सरिता आफ्नी दिदी उमा कहाँ जाँदा हरेक पटक थरिथरिका बिस्कुट लाने गर्दथिन्। कहिलेकाहीँ विदेशबाट आएकाहरुले दिएका चकलेट पनि दिने गर्दथिन्। तर पनि उनका छोराछोरी खुशी भएको पाएकी थिइनन् । त्यसपछि उनलेे महङ्गा कपडाहरु किनेर लगिन्। तैपनि खुशी नदेखेपछि एकदिन उनलेे उमालाई सोधिन् ” तिम्रा आँखाका नानीहरूलाई केही बिषयमा चिन्ता परेको जस्तो लाग्यो ,प्रत्यक्ष अप्रत्यक्ष रुपमा बुझ्नुपर्छ है।” उमाले भनिन् ” त्यस्तो त लाग्दैन । के कुराले तिमीलाई यस्तो लाग्यो ?” सरिताले भनिन् ” मैले जे कोसेली ल्याउँदा पनि उनीहरू कहिल्यै रमाएको पाइन ।” उमाले बताइन् ” तर सरस्वती बहिनी आउँदा भने उनले दिएको कोसेली पाउँदा यिनीहरूको अनुहार निकै उज्यालो देखिन्छ ।” . सरिताले जिज्ञासा राखिन् ” मैले भन्दा महँगो कोसेली ल्याउँछिन् कि सरस्वतीले ?” उमाले सुनाइन् ” आवश्यकता हेरेर कोसेली ल्याउने उनको बानी छ। न उनलेे स्वास्थमा असर पर्ने ल्याउँछिन्,न अनावश्यक कुरा।” सरिताले चासो राखिन्” के ल्याउने गरेकी छन् उनलेे ?” उमाले बताइन् ” रंगिन सचित्र ज्ञानबर्धक् बिज्ञान तथा कथा कविताका पुस्तकहरु। ती पुस्तकले उनीहरूलाई मात्र नभई छिमेकीलाई समेत फाइदा भएको छ। मेरा छोराछोरी एक्लै होइन समुहमा रमाउन चाहन्छन् ।”