चिकित्सा क्षेत्रको गरिमा

284

प्रेमनारायण भुसाल

चिकित्सा क्षेत्रलाई समाजले मर्यादित पेसाका रूपमा स्वीकार गरेको छ। यसैले विद्यालय तहका बालबालिकालाई भविष्यमा के बन्ने योजना छ भनेर प्रश्न गर्दा धेरैजसोको उत्तर डाक्टर भन्ने आउँछ। त्यसो त सिपमूलक तथा सम्मानित पेसामा आफ्ना सन्तान संलग्न होउन् भन्ने चाहनाका कारण धेरै अभिभावक आफ्ना बालबालिकालाई भविष्यमा डाक्टर बनाउने सपना देखेका हुन्छन्। सामाजिक प्रतिष्ठा, आर्थिकरूपमा आत्मनिर्भरता, समाजसेवा र मानव उद्धारको कामसमेत भएकाले यस पेसालाई प्रतिष्ठित मानिएको हो।


मानवीय भावनासँग प्रत्यक्षरूपमा सम्बद्ध हुने भएकाले यो पेसा निकै मर्यादित हुनुपर्दछ। आफू वा आफन्त मृत्युसँग सङ्घर्ष गर्दै गरेको अवस्थामा सकी/नसकी खर्च गर्न मान्छे तयार हुन्छ। अर्को शब्दमा भन्ने हो भने मर्न लागेको मान्छेलाई बचाउनका लागि सास रहेसम्म आस रहन्छ भन्दै ऋण धन गर्दै औषधोपचार गर्ने मानवीय प्रवृत्ति छ। चिकित्सकलाई गलत सूचना दिएमा गलत उपचारका कारण आफू नै पीडित भइन्छ भनेर सेतो कोटलाई कुनै पनि कुरा ढाँट्नु हुँदैन भन्ने मान्यतासमेत समाजमा छ। जे होस्, चिकित्सा क्षेत्रमा संलग्न व्यक्ति आर्थिक उपार्जनका लागि मात्र नभएर प्रत्यक्षरूपमा मानवीय कार्यमा संलग्न भएका व्यक्तिहरू हुन्। जीवन मृत्युको दोसाँधमा भएका व्यक्तिलाई समेत जीवन दान दिन सक्ने भएकाले उनीहरूले सर्वत्र सम्मानित हुने अवसर पनि पाउनुपर्दछ।
आजकल यसै पेसामा संलग्न केही व्यक्तिका कारण चिकित्सा जस्तो पवित्र पेसा जति सम्मानित हुनुपथ्र्याे त्यसमा स्खलन हुन थालेको महसुस गरिँदैछ। चिकित्सा क्षेत्रभित्र व्यवसायीकरण मात्र नभएर चिकित्सा पढ्दा गरेको खर्च तुरुन्तै उठाउने दबाबका कारण डाक्टरहरूले मानवीय संवेदनालाई भुल्दै अर्थोपार्जनलाई मात्र ध्यान दिन थालेको आभाष हुन थालेको छ। मानवीय पीडा, चित्कार र उसको पारिवारिक अवस्थालाई ध्यानै नदिइ बिरामीलाई एउटा वस्तुका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेकाले डाक्टरले गरेको उपचारमाथि पनि अविश्वास बढ्न थालेको हो। कुनै समस्या देखापरेमा एकजना डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दियो भने अहिले आमनागरिक तुरुन्तै डाक्टरलाई विश्वास गरेर अप्रेसन गर्न तयार हुँदैनन्। बरु अर्को डक्टरबाट पुनः परीक्षण गराउने प्रवृत्ति बढ्न थालेको छ। यी सबैको कारण ईश्वरको अर्को रूप मानिएका डाक्टरमाथिको अविश्वास हो भन्दा अत्युक्ति हुँदैन।
तुरुन्तै आर्थिक लाभ लिइहाल्ने मनोवृत्तिका केही चिकित्सकका कारण सावधानीपूर्वक उपचार गर्दागर्दै कारणवश बिरामीको मृत्यु भयो भने अस्पताल तोडफोड गर्ने प्रवृत्ति बढेको छ। यसले स्वास्थ्य सेवा प्रदायक र चिकित्सकहरूमाथि चुनौती थपेको छ। सही काम गर्दागर्दै र मानवीय त्रुटिका कारण भवितव्य भई कुनै घटना भएमा क्षतिपूर्ति बेहोर्ने मात्र नभई अन्य अमानवीय व्यवहारसमेत हुन सक्ने भएका कारण चिकित्सकहरू आफूलाई सम्मानित मात्र होइन, हरेक पाइलामा जोखिम सामना गरिरहेको पाउँछन्। हुन पनि सामान्य समस्या लिएर अस्पताल पुगेको व्यक्तिलाई कमिसनको चक्करमा अनावश्यक र असम्बद्ध परीक्षणहरू गर्न बाध्य गराउने चिकित्सक पनि यहीँ बजारमा छन्। बिरामीको कुरै नसुनी पूर्णरूपमा रोगका लक्षणहरूसमेत थाहा नपाइकनै औषधिका नाम लेख्न हतारिने चिकित्सक मात्र होइन, आवश्यक नपर्ने र सम्बन्धित लक्षणसँग मेल नै नखाने किसिमका परीक्षणहरू गर्ने चिकित्सक पनि अहिले यत्रतत्र पाइन थालेका छन्।
एकजना चिकित्सकसँग परीक्षण गरी प्रयोगशाला परीक्षणका रिपोर्ट लिएर अर्का डाक्टरकोमा पुग्ने हो भने उसले पनि पुनः सोही परीक्षण गर्न बाध्य पार्ने प्रवृत्ति बढेको छ। उसै दिन वा हप्ता दिनको अन्तरालमा गरिएको परीक्षणलाई मान्यता नदिइ पुनः परीक्षण गराउनुका पछाडि कमिसनले भूमिका खेलेको हुन्छ। यदि गुणस्तरमै प्रश्न उब्जिएको भए नियामक निकायले किन कारबाही नगरी ल्याब सञ्चालनको अनुमति दिइरहेका छन् ? विचारणीय छ। यसबाट बिरामीमाथि तनाव थपिने र अनावश्यक आर्थिक भार बढ्ने गरेको छ। अझ पछिल्लो समय त चिकित्सकसमेत अस्पतालसँग मिलेर होलबडी चेकअपका नाममा बिरामी र स्वस्थ व्यक्तिबाट समेत कमिसन झार्ने काम गरिरहेका छन्। विशेषज्ञ चिकित्सकका अनुसार बजारमा छ्याप्छ्याप्ती पाइने फुलबडी चेकअपको प्रभावकारिता छैन। शरीरको पूर्ण परीक्षण भनेर प्रचार गरिएका प्याकेजहरू प्रचार गरिए जसरी प्रभावकारी नभएको विशेषज्ञ डाक्टरहरूको राय छ। उनीहरू उमेर र शरीरमा देखिएका समस्याहरूका आधारमा समय–समयमा आवश्यक परीक्षणहरू गरिरहनुपर्ने तर होलबडीका नाममा अनावश्यक खर्च गर्न नहुने सुझाव दिन्छन्।
सरकारी अस्पतालमा कार्यरत केही डाक्टर अस्पतालभित्रको फार्मेसीमा औषधि किन्न प्रोत्साह गर्नुको सट्टा प्रेस्किप्सनमा नै निजी फार्मेसीको नाम ठेगाना लेखिदिने गरेका घटनासमेत देखिन्छन्। कम्पनीहरूले दिने बोनसका कारण तिनै कम्पनीका औषधि लेख्ने डाक्टरहरू उपचार भन्दा औषधि कम्पनीका बजार प्रतिनिधिबाट पाइने इन्सेन्टिभका लागि व्यग्र देखिन्छन्। यी सबैको प्रत्यक्ष प्रभाव उनीहरूकहाँ सेवा लिन जाने बिरामीहरूमा पर्दछ। यसर्थमा केही डाक्टर बिरामीलाई आफूले व्यवसाय गर्ने ठाउँमा नाफा आर्जन गर्नका लागि खरिद गरिएका सामान जस्तै ठान्न थालेका छन्। संवेदनशील क्षेत्रमा काम गर्ने व्यक्तिमा मानवीय संवेदना हराउँदा बिरामी डाक्टर स्वयंबाट त्रसित हुने अवस्थासमेत सिर्जना हुन थालेको छ।
इमानदार, संयमित र पेसाप्रति उत्तरदायी व्यक्तिले उपचार गर्ने सन्दर्भमा कुनै दुर्घटना भयो भने पनि अहिले डाक्टरकै लापरबाही हो कि भन्ने शङ्का गर्ने अवस्था सिर्जना भएको छ। यतिमात्र होइन, अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुँदा तोडफोड र आन्दोलनहरूसमेत हुने गरेका छन्। मानिसको जीवनको जिम्मा कसैले लिन सक्दैन। उपचारको क्रममा वा उपचारअगाडि÷पछाडि कुनै पनि समय मानिसको मृत्यु हुन सक्दछ। डाक्टरले उपचार गर्ने क्रममा बिरामीको मृत्यु भयो भने डाक्टरमाथि नै आक्रमण गर्ने काम कुनै पनि हालतमा सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन। चिकित्सकले ढुक्क भएर मानवीय कार्यमा खट्न पाउनुपर्दछ तर साह्रै अर्थलोलुप भएका केही चिकित्सकका कारण अहिले जुनसुकै कारणले बिरामीको मृत्यु भए पनि डाक्टरकै लापरबाही हो भन्दा धेरै हदसम्म पत्याउने अवस्था सिर्जना भएको छ।
चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिका लागि अब पहिलो चुनौतीका रूपमा आमनागरिकमा फैलिएको पेसाप्रतिको अविश्वास हटाउनु हो। चिकित्सक नै बिरामीलाई अनावश्यकरूपमा दुहुनो गाई बनाउने काममा संलग्न हुनु चिन्ताको विषय हो। वैध कामबाट निश्चित मात्रामा मात्र आम्दानी हुने भएकाले अवैध कार्यमा संलग्न हुने डाक्टरहरू रातारात धनी भएका उदाहरणहरू भेटिन थालिएको छ। लागुऔषधको कारोबार, अवैध गर्भपतनलगायतका काममा समेत चिकित्सकको संलग्नता बढ्दै गएको देखिन्छ। दिनानुदिन प्रकाशित समाचारले यस कुरालाई पुष्टि गर्दछन्।
हालै भएको बालबालिका बेचबिखन कार्यमा चिकित्सक संलग्न भएको समाचार चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिका लागि मात्र होइन, पूरै समाजका लागि कलङ्क बनेको छ। बच्चा व्यवस्थापन गर्ने नाममा आमा÷बाबुबाट रकम लिने अनि अवैधरूपमा बेचबिखन गर्ने काममा डाक्टरको संलग्नता निकै डरलाग्दो विषय हो। यस्तै काम गरेर अकुत सम्पत्ति कमाइसकेका डाक्टरका स्वीकारोक्तिबाट विगतमा पनि बालबालिका बेचबिखनमा ठूलै समूह संलग्न भएको शङ्का गरिएको छ। यी र लापरबाहीजन्य कारणहरूबाट अहिले चिकित्सा जस्तो पवित्र पेसा पैसा कमाउन मात्र तल्लीन हुनेहरूको झुन्डका रूपमा चिनिन थालेको छ।