सुरेशकुमार पाण्डे
दाङ घोराही
आमा आज म अल्लमल्ल परेकोछु। – मैले आमासँग निरास हुँदै भने। किन र छोरा? के बिषयमा अल्लमल्ल परेको तिमी?-आमाले मेरो सिरमा हात राखेर कपाल सम्समाउँदै बुझ्नखोज्न्नु भयो। हिजो देखि मेरो मुहार पुस्तिकाको टाइमलाइनमा धेरैले बधाई लेखेका छन्। त्यही भएर म अल्लमल्लमा परेको छ।-मैले फेरि पनि निरास प्रकट गरेँ। केको बधाई दिएकाछन् तिमीलाई लेखेका छैनन् बधाई दिनेहरूले ?-आमा आश्चार्य हुँदै मैसँग प्रश्न गर्नुभयो। म यो धर्तिमा आएको छ दशक भयो भन्नुहुन्छ । तर म जन्मिएको दिन टुङ्गो अँझै लागेको छैन।-मैले आमासँग नै प्रतिप्रश्न गरेँ। कस्तो कुरा नबुझेको तिमीले हँ ?कतिपटक भने “पाँग्रे गोरू र तँ सँगसगैका हौ” भनेको होइन मैले ?-आमाले मलाई हकार्दै भन्नुभयो। आमा कम्तिमा यती भन्दिनुहोस् त्यो पाँग्रे गोरू कुनदिन जन्मिएको हो ?-म पनि अलि चर्को सैलीमा बोलेँ। “सुन! हाम्रो नानीको कान्छी छोरी र तँ छ दिनले जेठा कान्छ छौँ। तँ भन्दा दुईदिन जेठो पाँग्रेगोरू हो। त्यो हिसाबले तँ मंसिरको १३ गते जन्मिएको होस्।-आमाले प्रष्ट पार्दै भन्नुभयो। होर आमा ? फेरि त्यो नागरिकतामा तीस गते किन लेखेकाछन् त?-त्यसबारे मलाई थाहाछैन। तेरो जन्मदिन मंसिरको तेह्रगते हो।-आमाले भन्नुभयो। होर आज मेरो जन्मदिनहो? म झस्किँदै उठेर बिस्तरामा बसेँ नजिकै भित्ताबाट आमाले टुलुटुलु मैतिर हेरिरहनु भएको थियो। जुरूक्कै उठेँ र आमाको तस्विरमा ढोग गरेँ।