प्रभादेवी पौडेल
भरतपुर ९ , चितवन
“मामु , हाम्रो विद्यालयमा तीजको कार्यक्रम राखेका छौँ । भोलि बिहान स्कूल जाने बेलामा मलाई पाँच सय रुपैयाँ दिनुहोस् न है।”
“किन चाहियो पाँच सय रुपैयाँ ? त्यति पैसाले त जहानैलाई एकदिनको खाजा पुग्छ। पढाई नहुने भएपछि पर्दैन त्यो दिन स्कूल सिस्कुल जान । मलाई पनि बिहानै बाहिर जानु छ , घर कुरेर बस।”
“त्यसो भनेर कहाँ हुन्छ र मामु ? यो त हाम्रो स्कूलको अन्तिम वर्ष हो , यसमा विगतका वर्षहरुमा झैं दशका विद्यार्थीहरुले आफै कार्यक्रमको आयोजना ,सञ्चालन गरि तीज गीत प्रतियोगिता समेत राखेका छौँ। पुरस्कार खाजा सबै हामीले नै व्यवस्था गर्ने हो । यदि खर्च गरेर पैसा बढी भयो भने फिर्ता पनि पाइन सक्छ मामु ।”
छोरीले जसरी सम्झाए पनि उनी सहमतिमा आइनन् । उनले उल्टै छोरीसँग झोक्किएर भनिन् , “उता बाउ खाडीमा त्यति दुःख गरेका छन् जेमा भो पैसै जेमा भो पैसै । म भोलि तेरो स्कुलमा गएर कुरा बुझ्छु । यी मास्टरहरुले काम पाउँदा रहेनछन् विद्यार्थीलाई त सोझै कमाउने भाँडो बनाए ” भन्दै भुतभुताउँदै भित्र पसिन् ।
केही बेरमा उनका दुई छिमेकी आएर भने, ” मालती, हिजो बैठकमा भएको निष्कर्ष अनुरूप हामी पैसा उठाउँदै हिंडेका। साडी र दरको पैसा उठ्न अब तिम्रो मात्र बाँकी छ।”
यो सुनेर उनी जुरुक्क उठेर भित्र गइन् र तुरुन्त दराज खोलेर पैसा झिकी छिमेकीको हातमा दिँदै भनिन् , ” हेर मुना , त्यो पार्टी प्यालेसमा त्यतिका पैसा लिने भएपछि केही आइटम थप्न लगाउनु पर्छ , खानेले त यसो अलिकति …. की कसो ? “