“दर”

180

रमेश भान्दाई

परम्परा अनुसार तीजको ब्रतको अघिल्लो दिन दर खाने ख्वाउने प्रचलन रहे पनि एक महिना अघि देखि दरको रमझम सुरु भईसकेको थियो। दर खाने ख्वाउनेले भोजशालाहरु भरिन थालेका थिए। दिनहुँ भोज हुन्थ्यो। नाचगान हुन्थे । स्वस्ती लाई भोजमा सरिक हुन बाट एक दिन फुर्सद थिएन। ब्रत बस्ने दिन नजिकिँदै थियो।


तीजको अघिल्लो दिन सखारै स्वस्तीको घरमा उसको भाइ टुप्लुक्क आईपुग्यो। केही बेरको विश्राम चिया पानी पश्चात भाइले भन्यो-“दिदी ! म त तपाईँलाई तीजको दर खान लिन आएको। आमाले भन्नु भएको छ यसपालि त जसरी भए पनि कान्छीलाई लिएर आउनु। ठूल्दिदी माहिली दिदी आईसक्नु भएको छ।”
“आ…भाइ म त जान्न है। यहीँ दिनदिनै दर खाईँदै छ।”-दिदीले उराठ लाग्दो शोरमा भनी। ” म केही जान्दिन दिदी। आमा सँगै कुरा गर्नुस”-भाइले आमा सँग फोन मिलाएर दिदीलाई दियो।
आमाले छोरीलाई दर खान आउन धेरै ढिपी गरिन्। आफुले प्रेम पूर्वक बनाएका दरका परिकारहरुको नाम सुनाईन्।
छोरीले हेय भावले भनी-“आ…आमा ! तपाईँले बनाउनु भएका खीर पुरी ढकने सेलरोटी सब्जी अचार मिठाई दूध दही घ्यू यी सब दरका परिकार पुराना भईसके। अब पुरानाका स्थानमा नयाँ नयाँ परिकार माछा मासु पिजा वर्गर वाईन वियर आदि आईसकेका छन्। म त आउँदिन आमा। साथीसँगी मिलेर आज यहीँ दर खाने भव्य आयोजना गरेकाछौँ।”