“दशैँ”


उमानाथ दाहाल

नयाँ भाव छर्दै दशैँ पर्व आयो
जतै शान्ति मेला जतै प्रेम छायो
नयाँ भावनामा डुबी दङ्ग दङ्ग
अहो ! बेस कस्तो शरद्को उमङ्ग।

न ता ताप धेरै न ता शीत उस्तो
उषाको सुनौलो अहा ! प्रीत कस्तो
उता रात छ्याङ्गै सितारा उज्याला
मिठो मालश्रीको बज्यो धून माला।

सबै बास आफ्ना सजाएर चुस्त
दशैँ वेहुली झैँ बनेको दुरुस्त
कतै वेदनाका न भेटिन्छ चिन्ह
दशैँ एक संस्कार हाम्रो अभिन्न।

गएका थिए दूर ती फर्कि आए
संगै चाड मान्ने , खुशीले रमाए
सबैका मनोभावना पूर्ण गर्दै
दशैँ जग्मगायो जतै हर्ष छर्दै।

कतै गान बज्छन् कतै पीङ खेला
घरै शक्ति पूजा महादिव्य बेला
नयाँ वस्त्र, खाना मिठो प्रात साँझ
दशैँको उज्यालो खुल्यो चित्त माँझ।

दशैँ मान्नु पर्दा दशा लाग्नु हुन्न
दशैँ साथसाथै नसा लाग्नु हुन्न
सिकाएर संस्कारहोस् चाड पूर्ण
नपारोस् दशैँले कसैमा अपूर्ण।