“दोष”

मन्जु अर्याल

“बैनी कुरा गर्न मिल्छ?” फोनमा मेसेज आयो। चपलाले जबाफ नदिदै फोनमा घन्टी बज्यो। खाना खान बसेको परिवार तिर हेर्दै “मेरो माइतीको दाइ हो” भन्दै “हजुर दाइ नमस्कार! सबै जना सन्चै हुनु हुन्छ नि ?” शिष्टता देखाईन।
“मेरो छोरा त्यहाँ चार महिना अगाडि पढ्न आएको छ। लौन त्यसलाई जागिर लाईदिनु पर्यो।”
“ए हो! ठिक छ। कहाँ बस्छन ? कुन कलेजमा पढ्छन ? के नाम हो बाबुको, दाइ ?”
त्यो के भन्छन नि ? ए ए ल्याम्टन कलेज हो। ”
“पहिले कहाँ काम गर्थे?”
“ए त्यो एउटा चाइनिज रेस्टुरेन्टमा गर्दथ्यो। डाउन टाउन भन्ने ठाउँमा हो। मालिक सार्है हरामी रहेछ। अहिले जेनवरी देखि जागिर नै छैन हेरन। अब तिमीहरु त्यहाँ बसेको धेरै भयो। एउटा जागिर लगाई देउन है बैनी। म उसको फेसबुक फोटो र फोन नम्बर पढाई दिन्छु।” एक सासमा भने।
“कति पढेर आएको हो नि दाइ, बाबुले?” फेरि प्रश्न गरिन।
“बार सकाएर गएको। यहाँ एउटा केहि काम नगरेको। त्यहाँ त्यसलाई कलेज, पढाई, घरभाडा, खानु परो। अहिले काम नभएर।”
अनि किन पठाउनु भएको केहि गर्न नजान्ने छोरालाई भन्न मन थियो तर “ए हो दाइ, म कोशिस गर्छु। ” भनिन।
“मान्दै मानेन। गयो। यहाँ भाउजुले दिनरात पिर गरेर हैरान छ।”
दिउँसो साथीले “छोराछोरी विदेश जानु अगाडि कहाँ बस्छ? कुन कलेज ? कति खर्च लाग्छ ? कुनै कामको अनुभव नभएको छोराछोरीलाई पठाउनु अगाडि सोच्नु पर्दैन? यहाँ आएपछि चिन्ता गरेर हुन्छ? आफ्नै पढेलेखेका पत्रकार भन्ने दाइ त कुरा बुझदैन अरुको के कुरा भो।” भनेको सम्झिन ।
“बिचरा, उसको के दोष? दाइले नै सात समुन्द्र पारि पढ्न पठाउनु अगाडि सबै बुझ्नु पर्दैन ?”