‘धन्तेरस’


प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम

“औ! सुनन, आज त धन्तेरस पो त । कागलाई पनि खानेकुरा चढ़ाउनु पर्छ।
बजारबाट पनि केही न केही त ल्याउनु पर्ने । के ल्याउनु हौ।गोजीमा पैसा पनि छैन । ए टी एम बाट निकाल्नु पर्छ।अलिक छिटो गर है । बजारबाट छिटै फर्केर आई घर को आँगन पनि लिप्नु पर्छ। सयपत्री त किन्नु पर्दैन होला तर पनि घर सजाउन झिल्झिले बत्ती त ल्याउनै पर्छ।एउटा ताँबाको ठुलो खालको कलश दुईटा झर्के थाल र लक्ष्मीको एउटा ठूलो फोटो चै बिर्सनु हुन्न । रहल खित्रिंग-मित्रिंग त सम्झेर ल्याउनु पर्ला । अं दिदी बहिनीलाई कति कति दक्षिणा दिनु हौ। म त अलमल्ल पो पर्दैछु त।””भो-भो! केही टाउको दुखाउनु पर्दैन तपाईँले यहाँ । धन्तेरस एक दिन मनाएर हुन्छ? धनको मूल्य त जीवन भरी बुझ्नु पर्छ। आज एक दिन कागलाई खाना चढ़ाउँदा केही हुँदैन । चढ़ाउनु नै हो भने ती भोका नांगा गरीबलाई ख्वाउनु पर्छ जसको गरीखाने सामर्थ्य छैन। जो लुला लंगड़ा छन् उनीहरुलाई दिनु।”
“एटीएम को त के कुरा गर्नु । चंखो मान्छेले त हिजो अस्ती नै तयारी बस्नु पर्छ। आज गयो भने त तीन दिन लाईनमा बस्नु पर्छ तबसम्म त पैसै सकिन्छ। तिहार पनि सकिन्छ।
आँगन किन लिप्नु र ? मनका मैला लिप्नु पर्छ। घर किन सजाउनु ? सजाउनु त मन हो ।एक दिन सजाएर हुन्न पल प्रतिपल सजाउनु पर्छ। तब पो त्यौहार ।
त्यो भैयाले धन्तेरसको नाममा हामीलाई कति ठग्छ थाह छ। एक सय को चीज चारसय भन्छ दलाली गर्यो भने धन्तेरसको नाममा आज त घटाउन मिल्दैन भन्छ। हामी नेपाली लाटा । उनीहरु भगवान को नाममा व्यापार गर्छन् हामी भगवान कै नाममा लुटिन्छौ।तर पनि लु ठिक छ। जे जसरी भए पनि हामी हाम्रो चाढ़ मनाउछौ। भोलि देउसी खेल्न त्यही भैयाकोमा गयो भने दश रुपियाको दक्षिणा दिन्छ ।
दिदी बहिनीलाई दक्षिणाको कुरो । यदि दिदी बहिनी पूज्ने हो भने लाख लाख रुपिया दक्षिणा दिनै पर्दैन। उनीहरुलाई सुरक्षा दिन सक्नु पर्छ। इज्जत दिनु पर्छ । माया ममता स्नेह र संस्कार दिनु पर्छ र आफू पनि संस्कारी हुन सक्नु पर्छ।”