“धन”

शुक्रराज कुँवर
बलभद्र पथ धरान १०

समाज सेवी बोधप्रसाद सादा जीवन उच्च विचारका प्रवर्तक थिए । उनको विचार र निश्वार्थ सेवाबाट धेरै प्रभावित थिए । समाजमा एउटा आदर्श बोकेका व्यक्तित्वको रुपमा उनी चिनिन्थे ।


एकदिन उनी काम विशेषले बजार जाँदै थिए । बाटोमा बाल्यकाल देखिको साथी भेट भयो । प्रशस्त सम्पत्ति आर्जन गरेकाले बडप्पन देखाउँथ्यो । साथी साथी बिच लामो कुराकानी भयो । बोधराजको सादगी देखेर स्वभाविक रुपमा साथीले कटाक्ष गर्दै भन्यो “के हो तेरो यस्तो सादगीपन ? आफूलाई बदल्ने प्रयत्न गर्न यार । विचार र आदर्शले मात्र धन कमाइन्दैन त ! खै तेरो आर्थिक उपार्जन ?”
“म जे छु ठिकै छु,तँलाई के को चिन्ता ? ” बोधप्रसादले भने ।
साथी होस् , तेरै भलाइको लागि भनेको भन्दै ऊ आफ्नो बाटो लाग्यो ।
दिनहरु बित्दै गए । संयोगबस एकदिन उनीहरु एउटै गाडीमा यात्रा गर्दै थिए । दुर्भाग्यवश गाडी दुर्घटनामा पर्यो । सख्त घाइते भए । उपचारार्थ अस्पताल लगियो ।
बोधप्रसाद दुर्घटनामा परेको कुरा क्षणभरमै यत्रतत्र फैलियो । अस्पतालमा उनलाई स्वास्थ्य लाभको कामना गर्न आउनेहरुको ताँती लाग्यो । उनको बैङ्क खातामा हप्ता दिन भित्रै सहयोग स्वरुप लाखौँलाख रुपियाँ जम्मा भयो ।
यो सबै दृश्य वाल्ल परेर नियालिरहेका बोधप्रसादका साथीले भने “यति धेरै तेरा मान्छे मेरा त कोही छैनन् त !”
“पैसा एकत्रित गर्नु मात्र धन होइन साथी , यश र मित्र आर्जन गर्न सक्नु पनि ठुलो धन हो” बोधप्रसादले नम्र भावमा भने ।