धुम्रपान मुक्त नगर

होम सुबेदी

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन् । दयारामले हतारहतार चिया नास्ता गरे।लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो।
“ए सपना !” काम गर्ने केटीलाई कराए । तुरुन्त हाजिर भई ।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ ।” आदेशअनुसार केटी हतार गर्दै दोकानतिर लागी ।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन् । नियम भनेको त सर्वसाधारणलाई न हो । यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ ।


लुगा लगाएर तयार भइसके । ‘केटी किन आउँदिन हँ !’ एकातिर केटी चुरोट लिएर आइनपुगेकोमा शङ्का अर्कातिर नास्ता गर्नासाथ चुरोट खाने तलतल !! दयाराम बडो व्यग्र भएर प्रतीक्षा गर्न थाले ।
“किन यसरी आज हतार भो ? कहाँ केका लागि जान लाग्नु भाको ?” पत्नीको प्रश्न थियो ।
“आज अन्तरराष्ट्रिय धुम्रपानरहित दिवस । यसका बारेमा जनचेतना जगाउनु छ । हाम्रो नगरलाई धुम्रपानरहित बनाउनु छ । यसैले बिहानैदेखि टोलबासीहरुलाई धुम्रपान मद्यपान खैनी गुट्खा लगायतका कुलतहरुबाट कसरी बच्न सकिन्छ भन्ने चेतनाका लागि मैत्री टोलबाट थालेर नगर भरि नै जुलुस गर्नु छ । यसैले हतार भएको । बिहान सातैबजेदेखि जानु पर्नेमा हतार भइसक्यो । त्यो केटीलाई चुरोट लिन पठाएको आइन अझ पनि । हेर हेर आई कि ? ”
“ए ए !! लु असल कुरा रहेछ । पहिले आफूतिर पनि जनचेतना जगाउनु होला !!”
“नकराऊ है तिमी बढी। खै त्यो केटी आइपुगिन त ।” उनलाई पाँच मिनटको समय पनि पाँच घन्टा जस्तो लाग्यो ।
बडो व्यग्र भएर बाटो हेर्दाहेर्दै केटीले बल्ल चुरोट ल्याइदिई । दयारामको सास बल्ल आयो । एकै पटक दुई ओटा चुरोट सल्काए र स्वाइँ स्वाइँ पारेर ताने । अनि हतार हतार बाहिर लागे उनलाई धुम्रपानमुक्त सहर जो बनाउनु छ ।