“नतिजा”

विद्या ढकाल,
तनहुँ

” मेरी छोरी पो हुन् त ।” – छिमेकी सरलाले सुन्ने गरी ज्ञानी चर्कै स्वरमा चिच्याइन् ।
“के भो र दिदी ?” – सरलाले पनि चर्कै स्वरमा जिज्ञासा राखिन् ।
“अझै थाहा पाएकी छैनौ र ?” – ज्ञानीले उल्टै प्रतिप्रश्न गरिन् ।
“अहँ मैले त केही पनि मेसो पाएकै छैन । नानुको त्यस्तो के भयो र दिदी ? ” – सरलाले प्रश्न माथि प्रश्न थपिन् ।
“अस्ति एस्ईई को नतिजा आयो नि । हो, त्यसमा हाम्री नानुको ग्रेड A+ आएछ । जे होस् हाम्रो इज्जत राखिदिइन् । अब विदेश पढ्न जान्छु भन्दैछन् । तिम्रो छोरीको के भएछ नि ?” – ज्ञानीले एकसाथ उत्तर अनि प्रश्न पनि राखिन् ।


“तपाईँहरूलाई साथ अनि सहयोग पनि हुन्छ । यहीँ गाउँको विद्यालयमा नै +2 पढ्छु भन्दैछन् । आउन त C+ कि के जाति आयो भन्ने कुरा गर्दै थिइन् ।” – सरला शान्त स्वरमा बोलिन् ।
“हाम्री नानु त्यत्रो पैसा तिरेर बोर्डिङ स्कुलमा पढेकी । सरकारी स्कुलमा पढेकी तिम्री छोरी हाम्री नानुको काँटमा आउने त कुरै भएन नि ।” – ज्ञानी दम्भ मिश्रित भावमा बोलिन् ।
ज्ञानीको भनाइले सरलाको मनमा कहीँ कता छोए जस्तो भयो । तर यही बिषयमा थप दहल फसल गर्न चाहिनन् । अनि कुराको बिट मार्ने हिसाबले सुस्तरी बोलिन् – “दिउँसो आफैँले बनाइवरी खेतालालाई खाजा लिएर गएकी, फर्कँदा बाख्रालाई घाँस पनि ल्याउँछु भन्दै थिइन् । छोरी आइपुग्ने बेला हुन लाग्यो । ल त दिदी म लागेँ है ।”
ज्ञानी पनि सरलाको कुरामा सही थाप्दै बोलिन् – “हुन्छ हुन्छ सरला, अहिले बिदा हुँ । मेरो पनि नानुको नुहाएका कपडा धोइदिने अनि चिया बनाएर दिने काम बाँकी नै छ।”