सुनिता निरौला पौडेल
भक्तपुर – राधे राधे ,निकोशेरा
” यो लौला नतेक्नु बा , म हात समाएर हिनाउँछु नि !”भन्दै नातिले लौरो टिपेर बारीको तल्लो पाटामा मिल्काइदियो । म उसलाई लखेट्दै थाकेर भुइँमा थ्याच्च बस्न पुगेँ ।
मेरो नक्कल गर्दै नातिले सँगै बसेर आफ्नो भरखरै पलाएका दुधे दाँत देखाउँदै ङिच्च हाँस्यो ।
“बा थाक्नु भयो ?” ऊ बोल्दै थियो । एकोहोरो भएर नातिलाई मैले हेरिरहेँ ।
मैले मनमनै सोचेँ ; मेरो पनि बालापन थिए,किशोर भएँ,बिहा गरेर छोरा नाति भए । यो नातिको पनि दुधे दाँत सबै झरेर नयाँ बलिया दाँत पलाउनेछ । यो पनि एकदिन म जस्तो बुढो हुन्छ ।
आफ्नो हजुरबालाई मैले सम्झेँ ; उहाँको काँधमा बसेर हैरान पार्ने गर्थेँ । एकदिन बा र आमा सँगै बसेर कुरा गर्दै गरेको मैले सुनेको थिएँ । आमाले बालाई आश्रममा छोडीदिने कुरा गर्नुभएको थियो । हजुरबालाई मैले नजानी नजानी भोलिपल्टै कुरा लगाइदिएको थिएँ । आमाले बेस्सरी कुट्नुभएको थियो ।
नाति मेरो काखैमा आएर बस्यो । उसले मलाई अँगालो हाल्दै सोध्यो ; “बा आस्सम भन्या काँ हो ? तपाईं त्यहाँ जाने रे !”
“हो नाति म आश्रम जान लागेको ” मेरो आँखामा आँसु टिलपिल भरिएको थियो ।
“अहिले तपाईं जानुस् बा , भोलिपसी म नि आउँछु ।”