‘नारी’


हरिप्रसाद गौतम

छोरी, बुहारी, आमा हुँदै सबै सम्बन्धकी मुख्य घटक हुन् : नारी । ‘नारी’ घरकी खुसी हुन्, आँगन उज्यालो पार्ने बत्ती हुन्, सृष्टिकी स्रष्टा हुन् अनि यो तीजकी बिज हुन् ।
हुन त श्रीमान् र श्रीमती भनेका पनि कसैका छोरा र छोरी हुन् । यिनैबाट सृष्टिको यो अनुपम सम्बन्ध पूर्णताका साथ खुसीले चलेको हुन्छ । यति कुरा सबैले बुझेका छन् तर तिनै बुझेकाहरूले आफ्नी बुहारीका लागि अरूले छोरी जन्माइदिएकोमा खुसी हुनु त कता हो कता, उल्टै मेरी बुहारी त यस्ती र उस्ती भन्दै उसको कमजोरीलाई तीलको पहाड बनाउने गर्दछन् । जसरी हाम्री छोरी हाम्री खुसी हुन्, आँगन उज्यालो पार्ने बत्ती हुन् भने अरुकी छोरी पनि त कसैकी खुसी र उनीहरूको घरको उज्यारो बत्ती हुन् भन्ने किन नबुझेका होलान् ।
तिनै कसैकी छोरीबाट नै हाम्रो घरको सृष्टि चल्छ । त्यसैले अर्काले दु:ख गरी पाएर माया गरी हुर्काएर हाम्रो घरलाई स्वर्ग बनाउन पठाएकी ती बुहारीलाई यति धेरै माया र सम्मान दिऔँ कि बुहारीले घरलाई पनि माइतीजस्तै स्वर्ग ठान्ने भावना जागोस् ।