लता के.सी.
तीनकुने , काठमाडौँ
उसले आमालाई सोध्यो , “बहिनीको व्यवहार किन बदलियो , केही भेउ छ , आमालाई ?”
आमाले चिन्ता व्यक्त गर्नु भयो , ” खै , सोध्यो भने रून्छे मात्र ! खाना पनि खान मान्दिन ।”
ऊ सोच्न थाल्यो , “मेरी बहिनीलाई के भयो ? केही दिन यतादेखि खाली ढोका लगाएर एक्लै बस्छे । कोहीसंग बोल्दिन । काममा नि गएकी छैन । ”
ऊ बहिनीसमक्ष गयो र केरकार गर्न थाल्यो । उसले मुस्किलले यथार्थ ओकली ,” मेरो साथीले मसँग महिनैपिच्छे पैसा लिन्थ्यो । हामी राजधानी जाने ! म सिनेमा बनाउने र तिमी नाच्ने भन्थ्यो तर अहिले थाहा नदिई नै ऊ भाग्यो ।”
उसले जिस्काउँदै , काखी बजाउँदै भन्यो , “खुच्चिङ ! खुच्चिङ ! मैले त पहिले भनेकै हो नि ! तँ राम्रो नाच्छेस् , बहिनी ! मेरो नृत्य कला केन्द्रमा नै काम गरेस् है ! ऊ बेला मात्तिएर सुनिनस् । ”
दाजुको हाउभाउ देखेर उसले हाँस्दै भनी , ” मैले आफ्नो र पराया चिनेँ । अब हजुरसङ्गै काम गर्नेछु । दादा, मलाई क्षमा गरिदिनू । “