त्रिलोचन ढकाल
आनन्दआश्रम, फापरथुम-स्याङ्जा
“कति खेलिरहन्छ्यौ सविना ?” प्राध्यापक डाक्टर घनमोहन हप्काउने मु्द्रामा प्रस्तुत भए ।
“पढेकी छु बुबा ।”
“पढेकी छौ ?! बिहानदेखि अहिलेसम्म मोवाइलमा झुण्डिइरहेकी छौ । मलाई किन छकाउन खोज्ने ?” घनमोहन अलि बडी झर्के ।
उनी घोरिए र सोचे:
“छोरी खतम हुने भइन् । किशोर अवस्था पार गर्ने बेलासम्म कसरी थाम्ने होला ? मोवाइलमा तिलस्मी खेलहरू हेर्दि हुन् । नाङ्गा फोटामाथि दृष्टि पुर्याउने होला । अश्लिल भिडीओभित्र व्यस्त हुने होला । तासमा पो लीन हुने हो कि ? यीनलाई सुबाटोमा लगाउन मुस्किल हुने भयो ।”
“हेर छोरी ! कोर्षका पुस्तकका साथमा साहित्यिक पुस्तक पढ्यो भने मस्तिष्क ताजा बनिरहन्छ, लौ पढ !!” घनमोहनले छोरीका अगाडि एउटा पुस्तक थेचारिदिए ।
सविनाले पुस्तक हेरिन् । महाकाव्य रहेछ । ओल्टाइ पल्टाइ गरिन् र मुस्कुराउँदै प्रस्तुत भइन्- “पढिरहिकी छु ।”
“पढ्छ्यौ ! पुस्तक छोएको बल्ल देखियो ।”
“कस्तो बुबा ! प्रोफेसर भएर पनि रुढिवादी ।”
“अझ रुढिवादी ?” प्रोफेसर झोक्किए।
“कागजका पुस्तक मात्र पढ्नु पर्छ र ? जमाना कहाँबाट कहाँ पुगिसक्यो !”
“के पढ्छ्यौ त ?”
“साहित्यपोष्ट दैनिक पत्रिकाले हजुरले दिएको पुस्तक अनलाइनमा राखिदिएको छ, त्यही पढिरहेकी छु ।”