चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १
‘यो हुनै सक्दैन ! कसरी हुन्छ यार ! जसलाई कदेखि ज्ञसम्म पनि राम्ररी लेख्न आउँदैनथ्यो उसैले हामीलाई जित्ने ?’ करुण अलि निरास भयो ।
‘केही हुँदैन यार छोड् दे ।’ कपिल बोल्यो ।
‘परीक्षामा सही मूल्याङ्कन त हुनु पर्यो नि मिहिनेत गरेको के अर्थ !’ स्मारिकाले आवेग पोखी ।
‘यो देशको परीक्षा प्रणाली हाम्रो विद्यालय जतिको पनि गतिलो रहेनछ । खै हाम्रो प्रधानाध्यापक पनि चुपचाप हुनुहुन्छ ।’ सन्तोषी झन उग्र भई ।
एस ई ई परिणाम घोषणापछि म्यासेन्जर समूहमा यस्तै चर्चा परिचर्चा भई रहेको थियो । हामी नेटमा रिजल्ट खोज्न तल्लिन थियौँ ।
‘हेरन हाम्रा गुरुहरु पनि प्रयोगात्मकमा पच्चीस अङ्क दिनुहुन्छ सिद्धान्तमा पन्ध्र अङ्क कटाएको छैन, यो के मूल्याङ्कन हो ? के आधारमा मूल्याङ्कन हुन्छ यहाँ ?’ फेरी करुणको अर्को म्यासेज आयो । उसले रुँदै गरेका र विस्मयका चिह्न पनि पठायो ।
परिणाम प्राप्त भयो । हामीलाई पनि चित्त बुझिरहेको थिएन अझ आफुले लिएका आजसम्मका सबै विद्यालय तहका परीक्षामा गणित, विज्ञान, अङ्ग्रेजी र नेपालीमा समेत असफल भई रहने सन्ध्याको चार जिपिए देखाई रहेको थियो । हामी गल्ल हास्यौँ । परीक्षा अगाडिको कुरा संझ्यौं । ‘तिमीले कुनै विषय पास गर्दिनौ तर के गर्नु छोरी मान्छे भएकाले हामीले पास गरेर पठायौँ ।’ ऊ चूप लागेकी थिई ।’
ढोका ढकढकाएको आवाव आयो । ‘म भित्र आउन सक्छु ।’ सन्ध्या बोली ।
अनि टेबलमा ढ्याप्प मार्कसिट पछारी र बोली देख्नुभो चार जि पी ए ?