पहिलो मासिक धर्मको ती रातहरु :–सम्झनामा


निर्मलाबराल
भक्तपुर सानो ठिमी

माईती जाँदा सधैँ मलाई उत्तरतिर छिमेकीको देखिने झ्याल अहिले पनि हेरिरहन मन लाग्छ। त्यहाँ मेरो मनमा गडिएका सम्झनाहरु अहिलेसम्म पनि सम्झन मन लाग्छ !
त्यो हो मेरो पहिलो पटकको मासिक धर्मको स्रृष्टिलाई समाजको कुरीतिले बन्धक बनाएको थियो। एक अबोध एघार बाह्र बर्षकी केटीले आफ्नो जन्मलाई धिक्कारेकी थिईन्।
आमाले मलाई रातपरेपछि गम्लङ ठूलो ओढ्ने ओढाएर त्यही कोठामा हुल्नु भएको थियो।मेरो मनमा भुइँचालो र आधीबेरी चलेको थियो । म भित्रभित्रै दुःखी थिएँ ।
तर मेरी आमाको मुहार हँसिलो देखे । त्यस घरकी मुखिनी आमै पनि औधी खुशी थिइन् । सबै झ्याल बन्द गरेर खानेकुरा दिदै , मलाई ढोका बन्द गर्न लगाएर जानुभयो आमा । घरमा साना साना भाई बैनाहरुलाई ख्वाऊन हतारीदै। बिचरा आमालाई कति पिरलो, कता कता भ्याउने। तर आमाको शक्ति आपरम्पार छ। आमा हुनसक्ने खुबी वा मासिक धर्मको सृष्टि छोरीमा भएकोले वहाँमा अझै शक्ति थपिएको थियो , जो सबै आमाहरुमा हुन्छ।
असल हुनुहुन्थ्यो मुखिनी आमै। राती मेरो कोठाको झ्यालमै टाँसिएर , नानी केही परे मलाई बोलाउनु है भन्नु हुन्थ्यो ! म पनि हवस् भन्थे , झिङ्गा छिर्ने प्वाल पनि बन्द गर्न लाउनुहुन्थ्यो आमाले ।
एक्लै त्यो अध्यारो कोठामा , दश बजेपछि सुनसान हुन्थ्यो सबैतिर कुकुर र स्यालहरू एकोहोरो कराउथे। म मनमनै भन्थे छ्या ! कस्तो नराम्रो क्षण आएको होला मेरो ? किन मलाई केटी बनायौ भगवान ! बरू केटा हुन पाए ,यो नछुने हुनुपर्ने त थिएन। त्यस बन्द झ्यालले मुसुक्क गर्दै भन्दथ्यो।
‘के थाँहा अबोध केटी ? तिमी त सृष्टिकी देबी हौ।’ तिम्रो आमा बन्ने प्रक्रियाको मार्ग हो। संसार भरी नै केटी मान्छेहरु (,महिला) जातिलाई र तिमीलाई जस्तै हो। झ्यालको सानो प्वालबाट हावाले जिस्काएर जान्थ्यो मलाई। बिहानको सूर्यको किरणले स्पर्श गर्दै , त्यही मसिनो प्वालमा आएर ठोकिन्थ्यो । म डरले सानो प्वाल पनि फेरि बन्द गर्दथे।हरेक साझ र बिहान घाम, हावाबाट म बन्चित भएको देखेर चिहाउन आए झै लाग्दथ्यो। उनीहरूले आफ्नो धर्म निर्वाह गरिरहे । उनीहरुवाट टाढा रहदा म भने पहेली पिलपिलाउदी हुँदैगंए।
मेरी आमाले भन्नुभएको सम्झन्थे , सूर्यको किरण हेर्नुहुन्न है। माइतीमा बाबु , दाजु ,भाइलाई पिरल्छ । मेरो भित्र अझै त्रास उब्जन्थ्यो। एकदिन मैले त्यही प्वालबाट के हुन्छ र ! भन्दै बाहिर हेरेकि थिए । अह! म दशदिनसम्म त हेर्दै हेर्दिन। म मनमनै गुन्दै भन्थे । बरु सूर्य तिमी पनि बिहानै देखि साँझसम्म घुम्मिएर बस। मलाई तिमीले झ्यालको भित्तामा स्पर्श गर्न आउनु पनि पर्दैन है !
आमाले म संग बोल्दा , खाना दिदा , सामान दिदा बोल्न केही नहुने? बुवा दाजुभाई हेर्न छुन नहुने । सायद पुरुष भएर होला! मनमनै कारण खोतल्थें ।
बुवाले कमाएर सबैलाई पालन पोषण गर्नु हुन्छ, वहाँलाई केही भयो भने त हामीहरु सन्तानले पढ्न लेख्नबाट बन्चित बन्दछौँ , भनेर झनै डरले घर बनाउँथ्यो , मेरो मनमा । काठको घरमा घाम छिर्ने ठाउँलाई टालिरहनु पर्दथ्यो । मुखिनी आमाले साझ परेपछि आलु र लसुनको तरकारी च्युरा अलग्ग त्यही झ्यालबाट राखिदिनु हुन्थ्यो। मिठो लाग्दथ्यो मलाई।
बन्दी झै भएर , बस्नु पर्दा आफैँलाई धिक्कार्थे। भगवान सँग पनि रिस उठ्दथ्यो । किन यी महिलालाई स्राप दियौ । यी पुरुषहरूलाई कति मज्जा। मधुरो लालटिनको ऊज्यालोमा भित्तामा हेर्थे। उसले मलाई गिज्याए झै लाग्दथ्यो । ढोकाले हात बाँधेर मुसुक्क हाँसेको देख्दथे । मलाई भने अझै रिस ऊठेर आऊथ्यो। यस्तो दिन त कसैलाई पनि भोग्नु नपरोस् । मनमा अनेकौँ कुराहरूलाई सम्झदै फेरि निन्द्रा देबीले मस्त पार्थिन् । सुतेपछि बिहान भएको थाहा नै नहुने। दिन र रात छुट्याउन गाह्रो पर्दथ्यो कहिले त । एक अपराधीलाई बन्धक बनाए जस्तो । यो सृष्टिलाई बन्धक बनाउने चलन कस्ले ल्यायो होला? म सोचिरहेकी हुन्थेँ।
आमाले खाना ल्याएर ढोका ढकढक गर्दा पो बिहान भएछ थाहा हुन्थ्यो।
मेरालागि रात र दिनहरु लामा थिए । मैले खाने स्टिलको थाल गिलास र कचौरा थिए । म सुत्ने खाटमा पराल माथि तन्ना ओढ्ने दोलाई सबै , चिजहरू म जस्तै बिटुला थिए। उनीहरु नै थिए मेरा साथी। सृष्टिको बन्धक भएको सात दिन हुँदा मलाई सात बर्षझै भा थियो। औला गनिरहन्थें एघार दिन कहिले होला ? एक्लै मौनतामा , बिताऊदै सारा दिनहरु ।आफैले भोगेका कुरालाई सम्झेर मलाई अब लाज लाग्न थालेको थियो। स्कूलमा साथीहरूसँग र गुरूबा , गुरूआमा संग कसरी मुख देखाउनु होला? स्कूलमा किन उपस्थित नभएको कारण लेखेर निवेदन बुझाउनुपर्दथ्यो। घरमा बाबा दाजु भाई, बैनाहरुलाई ,मुखिनीआमाको घरमा किन बसेकी कारण आमाले पक्कै भन्नुभएको छ । यी सबै कुराहरूले मेरो मनमा औडाहा भएको थियो। यस्तो अप्ठेरो कुराहरु झेल्न किन जन्मिए? मनका गुम्सिएका बिचारहरु मनमै जमाउनु बाहेक अरू उपाय थिएन । आमा सँग भन्नलाई पनि लाज लाग्दथ्यो।
आज मैले दश दिनलाई दश बर्ष झै कटाएर एघारौँ दिन थियो। आमाले चारैबजे आएर मलाई नुहाउन भन्नुभयो। अलग्ग बारीको एकछेउ बाल्टिनमा पानी साबुन रिखिदिनुभयो। मैले हतारिदै नुहाएर , सुतेका आफ्ना सबै कपडाहरू आमाले र मैले धोएर सुकायौँ। सुतेको कोठा गोबर माटोले लिपपोत गर्दा रिमरिम उज्यालो भयो।
उज्यालो जति जति हुँदै थियो ,मलाई उज्यालो देखि लाज लाग्दथ्यो। रुख बिरुवाले पनि जिस्काएको देख्दथे । बिहानै सुर्य उदयसंगै गुरू आउनुभयो। सुर्य भगवानको पूजा गरेर गोबरको कुण्डमा सूर्यको किरणमा आँखा जुधाएर , दहीको अर्घ दिदा खेरी , मलाई सूर्यको किरणसँग औधी लाज लागेको थियो । बिहानको मधुरो सूर्यको लाली मेरा गालामा स्पर्श गर्यो । अब तिमी कन्याबाट केटी भयौ भनेझै मलाई आभास भयो ,। तर सुर्यदेवको शक्ति पाए झै महसुस भयो । मैले ठूलो खुड्किलो पार गरेको सम्झे। तर समयले रंग भर्दै , उकाली र ओरालीको यात्रा तय गर्दै हिडायो । हरेक महिनामा परिपक्व बनाउन त बाकी नै पो रहेछ! सृष्टिको यात्रा त अब पो शुरू भएछ ! बल्ल बुझ्दै गए ।
त्यसपछि मलाई हरेक संघर्ष देखि डराउन छाडे । हाँसी हाँसी अगाडि बढिरहे । तर पनि जति दिन बित्दै थिए । सबैको आँखा भने मै भएतिरै तेर्सिरहे झै लाग्दथ्यो । कवितामा सुन्थे , फूल जस्तै हुन् केटीहरू । बास्तवमा फूल मन पराउनु के पाप हो र ?” आफैमा प्रश्न र उत्तर पाउथें । हरेकले पाउने फूल त एउटाले हो !
बिहे पछि मैले मेरा सन्तानहरु लिएर माइती पुगेपछि , एक फेर त्यस कोठाको झ्याललाई हेरिरहन मन लाग्यो । मेरी आमा र मुखिनीआमा नभए पनि त्यहाँबाट वहाँहरुको ममताको मिठो सम्झना मुसुक्क हाँसे झै लाग्दछ, अहिले पनि!