प्रेमनारायण भुसाल
विद्यालय शिक्षा समग्र शैक्षिक गतिविधिको आधारमा रूपमा रहेको हुन्छ । यसैले पाठ्यक्रमलाई समयानुकूल बनाई भविष्यका चुनौतीसमेत सामना गर्न सक्ने दक्ष नागरिक उत्पादन गर्नु पाठ्यक्रमको उद्देश्य बनेको हुन्छ । पाठ्यक्रममा सामयिक सुधार ल्याउनका लागि विद्यालय स्तरीय पाठ्यक्रम परिवर्तनको शृङ्खला यसै वर्षदेखि पूरा भएको छ । कक्षा १–३ मा एकीकृत पाठ्यक्रम र ४ देखि १२ कक्षासम्म विषयगत पाठ्यक्रम कार्यान्वयनको प्रक्रिया यसै वर्षदेखि लागू भएको छ । ५, ८ र १० कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गरेसँगै विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कामले पूर्णता पाउँदै छ । पुरानो पाठ्यक्रम पाठ्य विषयवस्तुको सूचीजस्तै रहेको सन्दर्भमा अहिले निर्माण गरिएको पाठ्यक्रममा वास्तवमै पाठ्यक्रमका सर्वाङ्गीण पक्षलाई समावेश गरिएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ का आधारभूत पक्षलाई टेकेर निर्माण भएको यस पाठ्यक्रमले पाठ्यपुस्तकको सूची मात्र दिएको छैन, एक्काइसौँ शताब्दीका सिकाइ सीप र तिनलाई प्राप्त गर्नका लागि गर्न सकिने कक्षाकोठा र कक्षा कोठाभन्दा बाहिरका गतिविधि, शिक्षक, विद्यार्थी, अभिभावकको भूमिका, निरन्तर मूल्याङ्कन, आन्तरिक मूल्याङ्कन र अन्य मूल्याङ्कनका औजारहरूको व्यवस्थापनलगायतका विषयमा सूक्ष्म विशेषण गरेको छ । पाठ्यक्रम तुलनात्मक रूपमा निकै सशक्त भए पनि नेपाली जनमानसमा पाठ्यक्रम परिवर्तन भनेको पाठ्यपुस्तकमा परिवर्तन भन्ने आमबुझाइ रहेको छ । यसलाई चिर्न सम्बद्ध निकायले सशक्त कदम चाल्नुपर्नेमा न त पाठ्यक्रम विकास केन्द्र न शिक्षा मन्त्रालयका अन्य कुनै निकायले नै तत्परता देखाएका छन् ।
पाठ्यपुस्तक लागू गर्नुपूर्व एक वर्ष परीक्षणका रूपमा केही विद्यालयमा पठनपाठन गराइने गरिन्छ । यसरी पठनपाठन गराउँदा देखापरेका समस्या समाधान गरी उपयुक्त ठहरिएमा अर्को वर्षबाट पाठ्यपुस्तक लागू हुने गर्छ । नेपालका सन्दर्भमा पाठ्यपुस्तकको परीक्षण बिरालो बाँध्ने प्रवृत्ति मात्र बनेको छ । यसैले पाठ्यपुस्तक विद्यार्थीको स्तरअनुकूल, पाठ्यक्रमले राखेका उद्देश्य प्राप्त गर्न सक्षम एवं स्थानीय विद्यालयमा पठनपाठन गराउन सकिने किसिमको छ भन्ने कुराको प्रमाणीकरण हुन सकेको छैन । पाठ्यक्रम वा पाठ्यपुस्तक परीक्षण गर्ने एउटा सन्दर्भ हो भने नयाँ पाठ्यक्रम लागू गरिसकेपछि सम्बन्धित विषयका हरेक शिक्षक पाठ्यक्रम प्रबोधीकरण कार्यक्रममा कुनै न कुनै रूपमा सहभागी हुनुपर्छ ।
शिक्षकलाई आवश्यक तालिमको व्यवस्था गर्न नसकिए परम्परागत रूढिबाट उनीहरू मुक्त हुन सक्दैनन् । पाठ्यक्रम, शिक्षक र विद्यार्थी तीनै वर्गको समन्वयबाट प्रभावकारी शिक्षण सिकाइ क्रियाकलाप सम्पन्न हुने हुँदा शिक्षक नै पाठ्यक्रमसँग अनभिज्ञ भएमा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्ने सम्भावना नै रहँदैन । हामीकहाँ पाठ्यक्रम विकास केन्द्रका केही अधिकृतले प्रबोधीकरणका नाममा गोष्ठी सञ्चालन गर्नुबाहेक सरकारी तबरबाट नयाँपाठ्यक्रम प्रभावकारी रूपमा लागू गर्नका लागि तालिमको व्यवस्थापन गरेको देखिँदैन ।पाठ्यक्रमसित सम्बन्धित तालिम कक्षाकोठामा पठनपाठन गराउने गर्ने शिक्षकबाटै सञ्चालन गरिनुपर्दछ तर शिक्षण क्रियाकलापसँग असम्बद्ध जागिर खाएका अधिकृतले सञ्चालन गर्ने तालिम प्रशासनिक निर्देशनभन्दा माथि उठ्न सकेका देखिन्नन् । तालिमका नाममा सङ्कलन गरिएका कोरा सूचना र प्राविधिक कुरा मात्र शिक्षकलाई सुनाउने प्रवृत्तिले गर्दा सरकारी तवरबाट पेसागत वृत्ति विकासमा समेत सहयोग पुग्ने भनी सञ्चालन गरिएका तालिम समय बर्बाद गर्ने खेल मात्र बनेका छन् । यस्तो अवस्थामा कुनै पनि तालिम सञ्चालन नगरीकन नयाँ पाठ्यक्रम लागू गरिँदा पाठ्यक्रमका मूलभूत उद्देश्यहरू प्राप्त हुने कुरामा शङ्का गर्न सकिन्छ । यसको ज्वलन्त नमुनाका रूपमा भर्खरै सम्पन्न भएका पालिका र एसईई स्तरका परीक्षाहरूका प्रश्नपत्र नै रहेका छन् । विद्यालयले एकल रूपमा निर्माण गरेका नभई नगरपालिकाले त्यस क्षेत्रका विज्ञहरूलाई संलग्न गराई निर्माण गरेका प्रश्नपत्र पाठ्यक्रमको उद्देश्यसँग पटक्कै तालमेलमा नराख्ने विषयगत किसिमका मात्र देखिए । धेरै पालिकाका पालिका स्तरीय प्रश्नपत्र तहगत उद्देश्य र पाठ्यक्रमका उद्देश्यविपरीत अमूर्त, अव्यवस्थित, असान्दर्भिक, अस्पष्ट र अशुद्ध पाइए । सामाजिक सञ्जालमा छरपस्ट भएका नतिजा पाठ्यक्रमको आशयअनुकूल देखिएनन् । नतिजा प्रतिशतमा प्रकाशन गर्ने अनि प्रथम, द्वितीय, तृतीय भनेर विद्यार्थीको स्तरीकरण गर्ने काम सुगम र दुर्गम सबैतिर देखियो ।
यसले के स्पष्ट पार्छ भने केन्द्रमा बस्नेले निर्माण गरेका अक्षराङ्कन विधि, नयाँ पाठ्यक्रम, पठनपाठन शैली, पाठ्यसामग्री, आन्तरिक र बाह्य मूल्याङ्कन, पाठ्यक्रमको उद्देश्य, एक्काइसौँ शताब्दीका सिकाइ सीप सबै भन्ने कुरा मात्रै हुन् । व्यवहारमा त अहिले शिक्षण गर्ने पुस्ता जसरी भोगेर आयो आधुनिक पुस्तामा पनि त्यस्तै सीपको अपेक्षा गर्दछ । अरूलाई परिवर्तन गर्न निकै सजिलो हुन्छ तर बौद्धिक व्यक्तिलाई परिवर्तन गर्न कठिनाइ हुन्छ । अझ बालबालिकासँग व्यवहार गर्ने गरेका शिक्षक अरूलाई अर्ती उपदेश दिन निकै अगाडि सर्ने गर्छन् तर धेरै हदसम्म नयाँ पद्धति आत्मसात् गर्ने कुरामा रुचि राख्दैनन् । यस सन्दर्भमा पाठ्यक्रम प्रबोधीकरण कार्यक्रम कर्मचारीबाट सञ्चालन हुँदा यसको प्रभावकारिता शून्यप्रायः बनेको छ । शिक्षण कार्यमा संलग्न व्यक्तिलाई प्रबोधीकरण शिक्षक प्रशिक्षण तालिम दिई क्रमबद्ध रूपमा हरेक पालिका र विद्यालयसम्म प्रबोधीकरणको लहर पुग्नु अहिलेको पहिलो आवश्यकता हो । त्यसो त सक्षमता, पाठ्यघण्टा, शिक्षण विधि, सामग्री, मूल्याङ्कन पद्धति, एक्काइसौँ शताब्दीका व्यवहारकुशल तथा विषयगत सीपलगायत कुराहरू पाठ्यक्रममा समावेश भए पनि शिक्षक–विद्यार्थी धेरै हदसम्म अनभिज्ञ नै भेटिए । यस्तो अवस्थामा पाठ्यक्रम जतिसुकै नयाँ ल्याइए पनि वा विद्यालयका संरचना जतिसुकै आधुनिक बनाइए पनि विद्यार्थीको शैक्षिक स्तरमा सुधार आउन सक्दैन । हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने गरेको सन्दर्भमा यस पटक दुर्गममा समेत समयमै पाठ्य पुस्तक पुगेका समाचार प्रकाशन भएका छन् । शिक्षा क्षेत्रमा यो एउटा राम्रो सुधार हो तर यतिले मात्र पुग्दैन । शिक्षामा रहेका तमाम विकृति यथाशीघ्र सच्याउनु आवश्यक छ । सिक्नुपर्ने कुरा नसिकाउने तर औचित्यहीन तालिम वा गोष्ठीका नाममा राष्ट्रिय ढुकुटीमा लुट मच्चाउने काममा मन्त्रालय मातहतका कर्मचारी व्यस्त रहँदा राष्ट्रको ठूलो ढुकुटी खेर गइरहेको छ । यति मात्र होइन, औचित्यहीन बनेको एसईई परीक्षाको तामझामले त शिक्षा नीति, तहगत संरचना र समग्र विद्यालय पाठ्यक्रमलाई नै गिज्याइरहेको छ । विद्यालय तहको पाठ्यक्रम परिवर्तन भई नयाँ पाठ्यक्रम लागू भयो । शिक्षक पुरानै छन् । अन्य संरचना पनि उस्तै छन् । तालिमको अभावले गर्दा पढाउने तरिका र शिक्षण क्रियाकलाप पनि पुरानै छन् । विद्यालयका कक्षा कोठा सिक्ने ठाउँ बन्नुभन्दा पढ्ने र परीक्षा पास गर्ने उपाय सिक्ने स्थल मात्र हुन् भन्ने विद्यार्थीको मनोविज्ञान पनि यथावत् नै देखिन्छ । यस्तो अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्नु मात्र शिक्षामा सुधार ल्याउनु होइन ।
एक्काइसौँ शताब्दीका विश्व मान्यतालाई समावेश गरी विश्व नागरिक उत्पादन गर्ने सामथ्र्य राख्ने पाठ्यक्रम भनी चित्रित गरिए पनि शिक्षकले पाठ्यक्रमअनुसारका क्रियाकलाप नगर्ने र पाठ्यपुस्तकलाई नै साध्य मान्ने मनोवृत्तिलाई परिवर्तन नगरेसम्म पाठ्यक्रम अर्थहीन हुन्छ । अहिलेको आवश्यकता प्रशिक्षण प्रशिक्षक तयार गरी हरेक पालिकामा पाठ्यक्रम प्रबोधीकरण र शिक्षक तालिम सञ्चालन गर्नु हो । कम्तीमा यस वर्ष नयाँ पाठ्यक्रमसँग सम्बन्धित तालिम सञ्चालन गरी सम्पूर्ण शिक्षकलाई सुसूचित गर्न सकिए मात्र नयाँ पाठ्यक्रमको औचित्य रहन सक्छ अन्यथा पाठ्यक्रम त परिवर्तन होला तर कार्यान्वयन गर्ने विद्यालयमा नयाँ पुस्तक मात्र पुग्ने छ अरू सम्पूर्ण कुरा पुरानै रहने छन्, जसले गर्दा पाठ्यक्रम परिमार्जनका क्रममा गरिएको लगानी खेर जानेछ ।
श्रोत ः गोरखापत्र