“पाठ”

अन्जु शर्मा
रातोपुल

ढुङ्गाले च्याउ जस्तै उम्रेका फेद न टुप्पाका नेताका जस्तै कुरा गर्यो। उसले बेेमतलव नमज्जा संगले सहयात्री माटोलाई धम्की पूर्ण भाषा बोल्यो ।” हेर माटो !म तिमी जस्तो कम्जोर हैन । मलाई आगोले डडाउन सक्तैन ,पानीले गलाउन सक्तैन ,नत हावाले उडाउन सक्छ । मलाई मान्छेहरू भगवान बनाएर पूज्छन्। त्यसैले तिमीले मेरो बराबर हुने कोशिस नगर।”
माटोले मुस्कुराउँदै भन्यो ” तिम्रो बुद्धि देखेर दया लाग्यो । म तिमी बराबर हैन, तिमी भन्दा धेरै माथि छु। कडापनका कारण तिमी आफैँ कोठामा बन्धक बन्छौ। त्यतिमात्रै कहाँ हो र;बाटोमा भेट्दा ठेस लाग्ला भनेर मान्छेहरू तिमीलाई पन्छाएर हिड्छन्। तर मलाई धर्ती माताको रूपमा सम्मान गर्छन् । सायद मेरो नरमपनले गर्दा हो “।
” नेता बन्न त माटो जस्तै गुनिलो बन्नुपर्ने रहेछ ,”ढुङ्गाले मनमनै मनन गर्यो ।अनि लज्जित हुँदै पछि हट्यो।